महिला अधिकार स्थापित गर्न तीजको महत्व : मुख्यमन्त्री पोखरेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    महिला अधिकार स्थापित गर्न तीजको महत्व : मुख्यमन्त्री पोखरेल

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७८, बिहीबार

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महिला अधिकार स्थापित गर्न र स्वतन्त्रताको अनुभूति गराउन तीज पर्वको विशेष महत्व रहेको बताएका छन् ।

    हरितालिका तीजको अवसरमा बिहीबार शुभकामना दिँदै मुख्यमन्त्री पोखरेलले भने, “तीज पर्वमार्फत् राजनीतिक जागरण ल्याएर नागरिकलाई जागरुक बनाउँदै स्वतन्त्रताको आन्दोलनलाई सफलताको बिन्दुमा पुग्न सम्भव भएको हो । त्यसैको परिणामस्वरुप नीति निर्माणको तहमा महिलाहरुको उपस्थितिका लागि संवैधानिक सुनिश्चितता भएको छ ।”

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष र विविधतायुक्त संस्कृतिले धनी रहेको चर्चा गर्दै उनले यहाँ मनाइने सबैखाले मौलिक चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताए ।

    “सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीक तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर पूजाआजा गर्ने प्रचलन छ,” मुख्यमन्त्री पोखरेलले भने, “ यस चाडले आपसी सम्बन्ध प्रगाढ बनाउँदै महिला अधिकारलाई अझै माथि उठाउने विश्वास व्यक्त गर्दछु ।”

    मुख्यमन्त्री पोखरेलले सामाजिक विकृतिप्रति सचेत हुँदै खर्चमा मितव्ययिता अपनाउन र पारिवारिक मिलन तथा सामाजिक सद्भाव बढाउने गरी पर्व मनाउन अनुरोध गरेका छन् । “कोरोनाको जोखिम अझै पनि कम भएको छैन । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गर्दै भीडभाड नगरी, घरमै बसेर यो पर्व मनाउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु,” उनले भने ।