


दमाैली : नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको कारवाही फुकुवा गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई पत्र लेखेपछि तनहुँको राजनीति तरङ्गित भएको छ । पार्टी अनुशासनमा कारवाहीमा परेका जोशीमाथि कारवाही फुकुवाको माग निधीले अहिले आएर किन गरे भन्नेमा काङ्ग्रेस कार्यकर्ता आफै अचम्मित भएका छन् ।
नेपाली काङ्ग्रेसको वडा अधिवेशन सकिएपछि जोशीमाथिको कारवाही फुकुवाको हल्ला चलाउनु गम्भीर धोका भएको जोशी निकट नेताको प्रतिक्रिया छ । जोशी निकट जिल्लास्तरीय नेता हरिशरण पण्डितले पार्टी क्रियाशील सदस्यता वितरण र वडा अधिवेशन सकिएपछि वहिष्कार गरेर बसेका जोशीको कारवाही फुकुवा चलाउनु गम्भीर धोका भएको बताएका छन् । उनले यसलाई लगन पछिको पोतेको सङ्ज्ञा समेत दिएका छन् ।
गत प्रतिनिधि सभा निर्वाचनमा काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध उम्मेदवारी दिएको भन्दै काङ्ग्रेले जोशीमाथि कारवाही गरेको छ । आफै नेतृत्वमा हुँदा त्यसबोला केही नबोलेका निधी अहिले आफू सभापति हुने दाउमा जोशीमाथिको कारवाही फुकुवाको हल्ला चलाएको जोशी निकट कार्यकर्ताको भनाई छ ।
केही दिनअघि मात्रै जोशीले काङ्ग्रेसको अधिवेशनको कुनै महत्व नभएको भन्दै वहिष्कार गरेका आफू निकट कार्यकर्तालाई धन्यवाद दिएका थिए ।