दुलेगौँडा : साइनो नेपाल मिडिया सोसाईटीले शुक्लागण्डकी नगरपालिका र यहाँका पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार साइनो नेपाल मिडिया सोसाईटीका अध्यक्ष ध्रुव पौडेलले शुक्लागण्डकी नगरपालिकाकी उमप्रमुख सविता रसाईलीमार्फत आठ हजार छ सय थान सर्जिकल माक्स हस्तान्तरण गरेका हुन् ।
छ हजार थान सर्जिकल माक्स शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिका लागि प्रदान गरिएको हो । दुई हजार छ सय थान शुक्लागण्डकीमा रहेका सञ्चार गृहमा आवद्ध पत्रकारलाई प्रदान गरिएको हो ।
साइनोका अध्यक्ष पौडेलले चाइना च्यारेटि फेडेरेसनसँगको सहकार्यमा गृह जिल्लामा स्वास्थ्य सामग्री प्रदान गरेको बताए । उनले कोरोनाबाट सुरक्षित रहन सही सदुपयोग गर्न आग्रह गरे । उपप्रमुख रसाईलीले सही सदुपयोग गर्ने प्रतिबद्धता जनाईन् । आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको उनले जनाईन् ।
प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले सबैको साथले कोरोना नियन्त्रणमा सहज भएको जनाए ।
शुक्लागण्डकी नगरपालिका–६ का वडा सदस्य बुद्धिबहादुर थापाले साईनो मिडियामार्फत चीनबाट हुने सहयोग शुक्लागण्डकीमा भित्र्याउन आतुर रहेको बताए ।
साईनो मिडियामार्फत पौडेलले यसअगाडी पनि शुक्लागण्डकी नगरपालिका अन्तर्गत रहेको खैरेनीटार स्वास्थ्य चौकी दुलेगौँडा र संघीय सरकार मातहतको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई दुई थानका दरले अक्सिजन कन्सट्रेटर उपलब्ध गराएका थिए ।
पत्रकार पौडेलले नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई पनि २१ भदौमा ६ हजार थान सर्जिकल माक्स उपलब्ध गराएका थिए । उनैको पहलमा शुक्लागण्डकी नगरपालिका र चिनको शहरसंग भागिनी सम्बन्ध गाँस्ने प्रकृया अगाडी बढेको छ ।