प्रधानमन्त्री रोजगार कार्यक्रम : बेरोजगारलाई गाउँघरमै रोजगारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रधानमन्त्री रोजगार कार्यक्रम : बेरोजगारलाई गाउँघरमै रोजगारी

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७८, शनिबार

    तनहुँ : प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् बेरोजगार सूचीमा सूचीकृत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका छन् । न्यूनतम एक सय दिनको रोजगारी पाइने यस कार्यक्रममार्फत् सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका हुन् ।

    म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम एक सय ६५ बेरोजगारले रोजगारी पाएका छन् । गाउँपालिकामा चार सय ४८ बेरोजगार सूचीकृत भएकामा प्राथमिकताका आधारमा एक सय ६५ बेरोजगारले रोजगारी पाएका हुन् ।

    रोजगारी पाउनेमा म्याग्दे गाउँपालिका–३, ४, ६ र ७ का बेरोजगार सूचीमा सूचीकृत भएकाहरु रहेको रोजगार संयोजक पविन्द्र शाहीले जानकारी दिए। उनका अनुसार म्याग्दे–३ का १३, म्याग्दे–४ का ३७, म्याग्दे–६ का ९ र म्याग्दे–७ का एक सय ६ जनाले रोजगारी पाएका छन् ।

    उनीहरुले प्रतिदिन रु पाँच सय १७ का दरले न्यूनतम एक सय दिनको काम पाएका छन् । “युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत एक सय र कामका लागि समुदायमा आधारित पारिश्रमिक आयोजना अन्तर्गत ६५ जनाले रोजगारी पाएका छन्,” शाहीले भने, “सात वडामध्ये चार वडामा आयोजना मार्फत् काम गरिएको छ ।”

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् गारेटो बाटो निर्माण, चौतारा निर्माण, पैदलमार्ग, पोखरी मर्मत, खानेपानी आयोजना मर्मत लगायतका काम सम्पन्न भएको छ । “सबै कामको प्रगति सन्तोषजनक छ,” उनले भने, “स्थानीय स्तरमै रोजगारी पाउँदा बेरोजगारलाई गुजारा चलाउन सहज भएको छ ।”

    चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि दुई सय ५८ सूचीकृत भएका छन् । त्यसमध्ये एक सय एक जनाले रोजगारी पाउनेछन् । म्याग्दे–३ मा २२, म्याग्दे–४ मा ३६, म्याग्दे–६ मा ११ र म्याग्दे–६ मा एक सय ८९ जना सूचीकृत भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि म्याग्दे–१ र २ मा कोही पनि सूचीकृत भएका छैनन् । प्रत्येक वडा कार्यालयमा सूचना पु¥याएपनि वडाको तर्फबाट राम्रो समन्वय हुन नसकेको शाहीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकामा चालु आर्थिक वर्षमा रु ८५ लाख बजेट विनियोजन भएको छ ।

    व्यास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् दुई सय ८३ जनाले रोजगारी पाएका छन् । यस कार्यक्रम अन्र्तगत १२ वटा योजनाको काम गरिएको छ । कार्यक्रमका लागि रु ८८ लाख बजेट विनियोजन भएकामा रु ४७ लाख ५४ हजार ९ सय एक बजेट खर्च भएको रोजगार संयोजक सुजिता थापाले जानकारी दिइन् ।

    नगरपालिकाका १४ वटा वडामध्ये ७ वटा वडामा मात्रै रोजगार कार्यक्रम सञ्चालन भएको छ । व्यास–६ मा कुलो मर्मत, व्यास–९ मा चिसापानी मोटरमार्ग कच्ची नाला निर्माण, व्यास–१० देवीडाँडामा सिढी निर्माण, व्यास–११ चमेरेगुफा भतेरी मार्गमा सिढी निर्माण र चौतारी निर्माणको काम गरिएको छ भने व्यास–१३ मा सुढे पदमार्ग र व्यास–१४ मा रुम्सी बेलडाँडामा कच्ची नाला निर्माण गरिएको छ ।

    आँबुखैरेनी गाउँपालिकामा तीन सय ९६ जनाले रोजगारी पाउका छन् । यस कार्यक्रममार्फत् ३५ योजना सम्पन्न गरिएको रोजगार संयोजक कमला गैह्रेले जानकारी दिइन् । यस अन्तर्गत प्रत्येक वडामा चौतारा र पोखरी निर्माण गरिएको छ । यसैगरी गोरेटो बाटो, नाला निर्माण लगायतका काम सम्पन्न भएको छ । कार्यक्रमका लागि लागि रु ९६ लाख बजेट प्राप्त भएकामा रु ८६ लाख ९५ हजार खर्च भएको थियो ।

    कार्यक्रम अन्तर्गत वडा नम्बर ४ मा कोटगाउँ गोरेटो बाटो निर्माण गरिएको छ । वडा नम्बर ५ मा ताराखसे आहालमा पोखरी तथा चौतारो निर्माण गरिएको छ । वडा नम्बर ६ मा हिलेखर्क छिम्केश्वरी गोरेटो मार्ग निर्माण, वडा नम्बर ५ बरालुङ गाउँबाट सानोभञ्ज्याङ जानको लागि गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाका ६ वटा वडा मध्ये वडा नम्बर २ मा पोखरी र वडा नम्बर ३ मा चौतारो निर्माण नभएको तर अन्य सबै वडामा पोखरी र चौतारो दुवै निर्माण गरिएको गैह्रेले जानकारी दिइन् ।