गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा तनहुँ प्रशासन उत्तम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा तनहुँ प्रशासन उत्तम

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७८, शनिबार

    दमौली : गृह मन्त्रालयको कार्य सम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय तनहुँ उत्तम घोषित भएको छ । मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार तनहुँ प्रशासन उत्तम (ए) घोषित हुन सफल भएको हो ।

    तनहुँ सहित १८ जिल्ला प्रशासन कार्यालय उत्तममा पर्न सफल भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

    मन्त्रालयले विभिन्न छ वटा विषयगत क्षेत्र तोकेर कार्यसम्पादन सम्झौता गरेको थियो । शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागू औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय, सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धित कार्यसम्पादनको मापन गरिएको थियो ।

    मन्त्रालयलाई अपराध नियन्त्रण मानव अधिकार संरक्षण, लैंगिक हिंसा न्यूनीकरण, सार्वजनिक सेवा प्रवाहमार्फत कानूनी राज्य तथा सुशासनको प्रत्याभूति दिलाउने जिम्मेवारी छ ।

    नेपालको संविधानमा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चत गरी सुशासनको प्रत्याभूति गर्ने उल्लेख छ ।

    निजामती सेवा ऐन तथा नियमावली (व्यवस्थापन तथा सञ्चालन) ऐनमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउन सार्वजनिक निकायका पदाधिकारीसँग कार्य सम्पादन सम्झौता गर्ने व्यवस्था छ ।

    गृह प्रशासन सुधार कार्ययोजना २०७४ मा विभागीय प्रमुख तथा कार्यालय प्रमुखसँग कार्य विवरण र सूचक तयार गरी कार्य सम्पादन सम्झौता गराई काममा खटाउन सक्ने व्यवस्था रहेको छ । उक्त कार्य क्षेत्र तथा कानूनी प्रावधानभित्र रही गृह मन्त्रालयले २०७५ देखि सचिव र प्रजिअबीच कार्य सम्पादन सम्झौता गरी वार्षिक मूल्याङ्कन गर्दै आइरहेको छ । सोही मूल्याङ्कनका आधारमा जिल्लालाई अति उत्कृष्ट, उत्कृष्ट, मध्यम र न्यूनस्तर भएका जिल्ला घोषणा गरी सार्वजनिक गरिएको हो ।

    कार्यसम्पादन मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०७७/७८ मा झापा, अर्घाखाँची र रुकुम (पूर्व) जिल्ला अति–उत्कृष्ट अङ्कसहित प्रथम हुन सफल भएका छन् । मन्त्रालयद्वारा सार्वजनिक नतिजाअनुसार ललितपुर र रुकुम (पश्चिम) उत्कृष्ट कार्यसम्पादनसहित दोस्रो तथा गृल्मी जिल्लाले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।