गण्डकीका वनमन्त्री चर्तीद्वारा शहिद पार्कको निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकीका वनमन्त्री चर्तीद्वारा शहिद पार्कको निरीक्षण

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७८, शनिबार

    दुलेगौँडा : गण्डकी प्रदेशका वन, वातावरण तथा भु–संरक्षण मन्त्री दिपक चर्ती मगरले शहिद स्मृति पार्कको निरीक्षण गरेका छन् । शनिबार साँझ तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा रहेको पार्क निरीक्षण गरेका हुन् ।

    पार्कलाई व्यस्थित गराउनुपर्ने आवश्यकता उनले औल्याए । शहिदको सम्झनामा बनाईएको पार्क व्यवस्थापनमा प्रदेश सरकारले बजेटको व्यवस्थापन गरिदिने उनको भनाई छ । पार्क आसपासमा रहेका क्रसर उद्योगको व्यवस्थापन गरी पार्कको सुन्दरता बढाउनुपर्नेमा मन्त्री मगरले जोड दिए ।

    गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पर्यटकीय सम्भावना भएकाले प्रदेश सरकारले पार्कलाई व्यवस्थित पार्न बजेट विनियोजन गर्नुपर्ने बताइन् ।

    जनयुद्धका शहिदहरुको सम्मानमा बनाईएको पार्क पछिल्लो समय व्यवस्थित हुँदैछ । गत आर्थिक वर्षमा मात्र करिब २५ लाख रुपैयाँ खर्चिएर पार्कमा जनयुद्धका शहिदको बलिदानलाई सम्मान गर्दै प्रतिकात्मक मूर्ति राखिएको छ । २० फिट अग्लो स्तम्भ निर्माण गरेर स्तम्भको माथिपट्टी बन्दुक बोकेको महिलाको साढे पाँच फिट र पुरुषको छ फिट अग्लो मूर्ति राखिएको हो ।

    निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत तनहुँ २ (क) बाट निर्वाचित कोइरालाले २५ लाख रुपैयाँ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ५ लाख रुपैयाँ विनियोजन गरेपछि शहिद पार्कमा मूर्ति निर्माण लगायतको पूर्वाधार थप गरेको पार्क संरक्षण समितिका अध्यक्ष दिनेश गौतमले जानकारी दिए ।


    जनयुद्धमा तनहुँका ६३ जना शहिद भएका थिए । राज्यतर्फबाट १६ जना बेपत्ता छन् । उनीहरुकै स्मृतीमा ४३ रोपनी सार्वजनिक जग्गामा पार्क बनाईएको छ । पार्कलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ ।