भरतपुर र पोखरामा विजुलीको तार भूमिगत गर्न साढे ४९ करोड बजेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भरतपुर र पोखरामा विजुलीको तार भूमिगत गर्न साढे ४९ करोड बजेट

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७८, आईतवार

    चितवन : अब चितवनको भरतपुर र कास्कीको पोखरा महानगरपालिकामा विजुलीका तार भूमिगतको काम सुरु हुने भएको छ ।

    जस अनुसार पहिलो चरणमा पोखरा र भरतपुरमा तार भूमिगत हुने  पोखरा र भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले जानकारी दिए ।

    उनका अनुसार भरतपुर महानगरको नारायणगढ  पुलचोक, चौबिसकोठी बसपार्क वाइसपास रोड, आपटारी हुँदै पुनः पुलचोकसम्म तार बिछ्याउने काम हुने छ । त्यसका लागि आसयपत्रपछि जारी भइसकेको छ । बोलपत्र आह्वानको तयारी छ ।

    पोखरा र भरतपुरमा विजुली तार भूमिगत गर्न ४९ करोड ६८ लाख ३१ हजार ८९९ रुपैयाँ लाग्ने आयोजना  प्रमुख झाले जानकारी दिए । टाटा प्रोजेक्ट लिमिटेडले ललितपुर र भक्तपुरमा तार भूमिगत गरिरहेको छ । यो लिमिटेडले भरतपुर र पोखरामा पनि तार भूमिगत गर्न आशयपत्र पेस गरेको छ । 

    आयोजनाका अनुसार  भरतपुरमा ३३ केभीको नौ सर्किट किलोमिटर, ११ केभीको ७५ सर्किट किलोमिटर,४०० केभीको ७० सर्किट किलोमिटर र २८ किलोमिटर अप्टिकल फाइबर भूमिगत हुनेछ । 

    यस्तै, पोखरामा ११ केभीको ४८ सर्किट किलोमिटर, ४०० भोल्टको ३३ सर्किट किलोमिटर र ५५ किलोमिटर अप्टिकल फाइबर लाइन भूमिगत गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ ।

    अब विद्युतको तारसँगै अप्टिकल फाइबर बिछ्याइने भएकाले इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजनजस्ता सेवा प्रदायकहरुले सो अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।