भक्तजनका लागि खुल्याे ढाेरवाराही मन्दिर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भक्तजनका लागि खुल्याे ढाेरवाराही मन्दिर

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७८, आईतवार

    दुलेगाैडा : प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिर भक्तजनका लागि खुला गरिएको छ । दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएको ढोरबाराही मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला गरिएको हो ।

    शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा रहेको मन्दिर वैशाख दोस्रो सातादेखि बन्द थियो । स्वास्थ्यको मापदण्ड अपनाएर भक्तजनलाई पूजाअर्चना गर्न मिल्नेगरी मन्दिर खोलिएको पुजारी चिरञ्जीवि लम्सालले बताए । निषेधाज्ञाको कारण मन्दिरमा नित्य पूजा बाहेक बन्द थियो । तरपनि भक्तजन आईरहेको लम्सालले बताए ।

    ‘भक्तजन आउने, बाहिरैबाट पुजा गरेर जाने भईरहेको थियो’, उनले भने, ‘अब मन्दिरभित्रै पूजा गर्न पाउनेगरी खोलेका छौँ ।’ आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासकासाथ ढोरबाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङजा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

    जंगलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउछ । ढोरवारहीमा रहेको पोखरीमा बेला बेला लहरी छुट्ने गर्दछ । रहस्यमी लहरीलाई धार्मिक आस्थाको रुपमा लिईन्छ । ढोरबारही मन्दिरलाई भगवान् बिष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ । मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टाहरुमध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत ९६७ लेखिएको थियो । यसैको आधरमा पनि मन्दिर निकै पुरानो रहेको पुष्टी हुन्छ । स्कन्दपुराणको हिमवतखण्डमा ढोरबाराहीको महिमाबारे चर्चा गरिएको छ ।