बन्दिपुरकाे नाहालामा बन्याे पशुसेवा केन्द्रको भवन, अध्यक्ष थापाद्वारा उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दिपुरकाे नाहालामा बन्याे पशुसेवा केन्द्रको भवन, अध्यक्ष थापाद्वारा उद्घाटन

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७८, सोमबार

    बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिका–१ नाहालामा निर्माण सम्पन्न भएको पशु सेवा केन्द्रको भवनको उद्घाटन गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको लगानीमा निर्माण सम्पन्न भएको भवनको साेमबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उद्घाटन गरेका हुन् ।

    गत वर्षकाे भदौदेखि निर्माण शुरु भएर चैतमा निर्माण सम्पन्न भएको पशुसेवा केन्द्रको भवनको स्वामित्व गत साउन पहिलो साता गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । रु ९८ लाख ६१ हजार चार सय ४९ को लागतमा भवन निर्माण गरिएको हो । सोही भवनबाट गाउँपालिकाको पशु सेवा शाखा पनि सञ्चालन गरिएको छ ।

    भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष थापाले भवन निर्माण भएपछि अब यस भेगका पशुपालक कृषकलाई सहज रुपमा सेवा लिन सहयोग मिल्ने बताए । पशुपालनलाई व्यावसायिक बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थापाले बताए ।

    गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले परम्परागत रुपमा पशुपालन गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने लक्ष्य सहित कार्यक्रम सञ्चालन गरिएको बताइन् । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ लगायतले भवन निर्माणपछि पशुपालक कृषकलाई सेवा लिन सहयोग पुग्ने धारणा राखे ।

    भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाभित्रका पशुपालक कृषकले अब पशुको उपचार यहीबाटै गर्न पाउने वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए । यहाँ डाक्टर सहितको दरबन्दी खटाउने तयारी गरिएको छ । साथै यहाँ प्रयोगशाला समेत सञ्चालन हुनेछ । प्रयोगशालाका लागि आवश्यक उपकरण नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले सहयोग गर्ने भएको छ ।

    दरबन्दी अभाव छ भएकाले दरबन्दी पूर्ति गरेर उपकरण सहित सेवा प्रवाहको थालनी गरिने पशु सेवा शाखा प्रमुख मधु न्यौपानेले जानकारी दिए । पशुको उपचारका लागि दमौली जानुपर्ने बाध्यता अब हट्ने उनले बताए । शुरुवाती चरणमा यहाँबाट गोबर परीक्षण, कृत्रिम गर्भाधान लगायतका सेवा दिने तयारी थालिएको छ ।

    उक्त भवनमा ६ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि पशुसेवा केन्द्र अति आवश्यकता थियो । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले रु एक रोपनी जग्गा गाउँपालिकालाई दान गरेेकी थिइन् ।

    यो वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । मासुमा आत्मनिभर बनाउने उद्देश्यसहित बाख्रा पकेट क्षेत्रको रुपमा अगाडी बढाइएको छ । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ ।

    “बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न बाख्रापालक कृषकहरुलाई प्राविधिक तालिम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ,” न्यौपानेले भने, “व्यावसायिक रुपमा बाख्रापालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।” गाउँपालिकाले पशुपालक कृषकलाई लक्षित गरी माउ बाख्रा वितरण, दूध उत्पादनमा प्रति लिटर रु एक अनुदान, घाँस तथा औषधि वितरण लगायतका सहयोग गर्दै आएको छ । गाउँपालिकाले बन्दिपुर–५ मा सेवा केन्द्र स्थापना गरी पशुपालक कृषकलाई सेवा दिइरहेको छ ।