मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको ४ लाख ५७ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको ४ लाख ५७ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७८, सोमबार

    तनहुँ : तनहुँ समाज हङकङले जिल्लाका दुई जना मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले तनहुँको ऋषिङ गाउँपालिका-८ पल्ट्याङ्ग घर भएका दुई जना मिर्गौला पीडितलाई नगद चार लाख ५७ हजार आर्थिक सहयोग गरेको हो ।

    दुवै मिर्गौला फेल भइ उपचारका क्रममा रहेका ४१ वर्षीय लुम बहादुर रिमाली र ३६ वर्षीय खिम बहादुर नेपालीलाई समाजको तर्फबाट आर्थिक सहयोग गरिएको हो । सोमबार खैरेनीटारमा समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले पीडितद्वयलाई भेटेर नगद रकम हस्तान्तरण गरे ।

    पीडित नेपालीलाई २ लाख ७४ हजार २ सय र रिमालीलाई १ लाख ८२ हजार ८ सय रुपैयाँ सहयोग गरिएको समाजका सचिव सुवित गुरुङले जानकारी दिए ।

    उनीहरुको नियमित डायलाइसिस लगायतको उपचारमा रकम अभाव भएको खबर स्थानीय टोल बहादुर थापाले हङकङमा रहेका आफ्ना दाई लालबहादुर थापालाई बताएपछि उनको सक्रियतामा हङकङमा रहेका नेपालीहरुबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।

    रकम हस्तान्तरण गर्दै पूर्व अध्यक्ष गुरुङले विगतदेखि नै दुख पीडामा समाजले मलम लगाउने काम गर्दै आएको बताए । विदेशमा रहेर पनि यहाँका दुखी पीडितहरुको आवश्यकता अनुसार सहयोग गर्न पाउदाँ खुशी लागेको उनको भनाई छ । साथै प्राप्त रकम सही सदुपयोग गर्न समेत उनले पीडितहरुलाई आग्रह गरे ।

    हाल गण्डकी मेडिकल कलेज पोखरामा डायलासिस गर्दै आएका नेपालीले मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा रहेकाले उक्त रकमले ठूलो राहत महशुस भएको बताए । त्यस्तै गरी दमौली अस्पतालबाट विगत ५ वर्षदेखि डाइलासिस सेवा लिदै आएका रिमालीले पनि उपचारमा सहयोग पुग्ने भन्दै रकम प्रति आभार व्यक्त गरे ।

    तनहुँमा विगतेदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुख पीडामा परेको खबर आउन साथ हङकङमा विभिन्न सिलसिलामा पुगेका नेपालीहरुसँग समन्वय गरी आफ्नो कमाइबाटै सहयोग रकम पठाउदै आएको छ ।