पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका अधिकार सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बालदिवसका अवसरमा मंगलबार शुभकामना दिँदै मुख्यमन्त्री पोखरेलले बाल अधिकारका सन्दर्भमा सरकार सम्वेदनशील रहेको उल्लेख गरे ।
“आफ्ना अधिकारबाट कुनै पनि बालबालिका वञ्चित हुन नपर्ने वातावरण सिर्जना गर्न लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति लागु गरिएको छ,” उनले भने ।
कोभिड महामारीको सबैभन्दा बढी मारमा बालबालिका परेको बताउँदै पोखरेलले कोभिडबाट अभिभावक गुमाएका बालबालिकका लागि सरकारले विशेष राहतको व्यवस्था गरेको जानकारी दिए ।
नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरे यता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।