दमौली : व्यास नगरपालिका-५ स्थित पराशर माध्यमिक विद्यालयमा सामाजिक परीक्षण प्रतिवेदन सार्वजनकिकरण एवं विद्यालय सुधार योजना निर्माण सम्बन्धि सरोकारवाला भेला सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७७।०७८ मा भए गरेका व्यवस्थापकीय, आर्थिक, शैक्षिक र भौतिक पक्ष गतिविधिको लेखन र परीक्षण गरिएको प्रतिवेदन विद्यालयका प्रधानाध्यप हेम पौडेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा व्यास-५ का वडाध्यक्ष एवं संरक्षक मोहनकुमार श्रेष्ठले सामाजिक परीक्षण प्रतिवेदन एवं विद्यालय सुधार योजनाका लागि आवश्यक सुझाव तथा सल्लाह दिएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्री, सदस्य तथा अभिभावक एवं बेनीपाटन टोल विकास संस्थाका अध्यक्ष परशुराम गिरी, नगरपालिका प्रतिनिधि लक्ष्मी विक, प्राविधिक उपसमिति विज्ञ तथा बालमन्दिर माविका प्रअ राजेन्द्रप्रसाद खनाल लगायतकाले सुझाव तथा सल्लाह प्रदान गरेका थिए ।
उक्त भेलामा विद्यालय सुधार योजना निर्माण प्रतिवेदन प्रस्ताव शिक्षक रामदत्त पौडेलले प्रस्तुत गरेका थिए ।
साथै राष्ट्रिय बालदिवसको अवसरमा विद्यालयमा क्रियाशिल ज्ञानोदय बालक्लवद्वारा विविध कार्यक्रम सञ्चालन गरि पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा कक्षा १ देखि ३ लाई भित्र बाहिर खेल खेलाइएको थियो । जसमा प्रशान्त थापा, युजन थापा र सुमन बोटे क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
त्यस्तै कक्षा ४–५ लाई हिसाब दौड खेल खेलाइएको थियो जसमा वर्षा आले, इभान गुरुङ र सुमन बोटे प्रथम, द्वितीय र तृतीय भएका थिए । कक्षा ६–७ को हिज्जे प्रतियोगिता आयोजना गरिएकामा विष्णुमाया थापा, मेख बहादुर रोका र विजय थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए र कक्षा ८ – ९ लाई माष्टर माइन्ड खेल खेलाइएको थियो जसमा अविन श्रेष्ठ, रमित आले र रोशन बोटे क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
कार्यक्रममा शैक्षिक सत्र २०७७ को वार्षिक शैक्षिक सिकाई उपलब्धि मूल्याङ्कन (परीक्षा) मा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको सहायक प्रधानाध्यापक अनिता घिमिरे काफ्लेले जानकारी दिए ।