दमाैली : दमौलीमा सञ्चालित होटल व्यवसायीले व्यवसायलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले मङ्गलबार आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले व्यवसायलाई मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
होटल व्यवसायीले होटलमा सामाजिक विकृतिजन्य क्रियाकलाप नगर्ने नगराउने प्रतिबद्धता व्यक्त गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । साथै होटलमा बालबालिकाको प्रयोग नगर्ने विषयमा पनि व्यवसायीले प्रतिबद्धता जनाएका छन् । प्रहरीले केही दिन अगाडी व्यास नगरपालिका–३ स्थित एक होटलमा अनैतिक क्रियाकलाप गरेको अभियोगमा होटल सञ्चालक सहित केही युवायुवती पक्राउ गरेको थियो ।
कोरोना जोखिम कायमै रहेकाले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले भदौ ३१ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ । आदेशमा साँझ ९ बजेसम्म होटल खोल्ने निर्णय छ । सोही बमोजिम व्यवसाय सञ्चालन गर्न होटल व्यवसायीलाई प्रहरीले अनुरोध गरेको छ । तनहुँ होटल व्यवसायी सङ्घका अध्यक्ष दुर्गाविलास भट्टराईले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालनका लागि व्यवसायी तयार रहेको बताए। प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जिल्लाका अन्य ठाउँमा सञ्चालित होटल व्यवसायीसँग पनि अन्तरक्रिया गरिने जानकारी दिए।
प्रहरी उपरिक्षक दिनेशराज मैनालीले व्यवसायीको सुरक्षाका लागि प्रहरी गम्भीर रहेको बताए।