दशैंमा सञ्चालनमा आउँदै एपेक्स मल, बुकिङ गर्नेलाई विशेष छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दशैंमा सञ्चालनमा आउँदै एपेक्स मल, बुकिङ गर्नेलाई विशेष छुट

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७८, बुधबार

    दमाैली : तनहुँको दमौलीमा रु ४५ करोडको लगानीमा सुविधासम्पन्न मल निर्माण सम्पन्न भएको छ । एपेक्स मल्टिप्लेक्स प्रालिले व्यास नगरपालिका–२ स्थित सफासडकमा एपेक्स मल निर्माण गरेको हो ।

    अत्याधुनिक सेवा सुविधा सहित एउटै छानामुनी किनमेल, मनोरञ्जन, खानपिनको सुविधा र डिजिटल प्रविधियुक्त सिनेमाहल सञ्चालनका लागि मल निर्माण गरिएको प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिए ।

    केही समय अगाडी नै सञ्चालनमा ल्याउने तयारी गरिएको मल कोरोना कहरका कारण प्रभावित भएको थियो । विजयादशमी अगाडी नै मल र सिनेमा हल सञ्चालनमा ल्याउने तयारी गरिएको श्रेष्ठले बताए ।

    मलमा दुई वटा सिनेमा हल समेत निर्माण गरिएको छ । जसअन्तर्गत दुई सय ३८ र एक सय २० सिट क्षमताका छुट्टाछुट्टै हल तयार गरिएको छ । पूर्ण रुपमा एयर कन्डिसनयुक्त, सिसिटिभीको निगरानीमा २४ सै घण्टा सुरक्षागार्डको उपस्थितिमा साताभरि नै मल सञ्चालन गरिने प्रालिका व्यापार प्रमुख सुशील न्यौपानेले जानकारी दिए ।

    कूल ४५ पसल क्षमताको मलमा हाल बुकिङ खुल्ला गरिएको छ । त्यसमध्ये १५ प्रतिशत बुकिङ भइसकेको छ । मलको तल्लो तल्लामा ११ वटा पसल रहेको छ । जहाँ स्वदेशी तथा विदेशी ब्राण्डका सामग्री विक्रीवितरणको व्यवस्था मिलाइनेछ ।

    पसल बुकिङ गर्नेहरुका लागि पहिलो दुई महिनासम्म पसल सजाउने तयारीका लागि पूर्ण भाडा छुट, तेस्रो महिनादेखि छैठौ महिनासम्म ४० प्रतिशत, सातौदेखि १२ औ महिनासम्म ३० प्रतिशत, १३ औं देखि १८ औ महिनासम्म २० प्रतिशत भाडा छुट र तीन वर्षसम्म एक रुपैयाँ पनि भाडावृद्धि नगरिने प्रालिले जनाएको छ । १५ दिनभन्दा पनि निषेधाज्ञा भएको खण्डमा उक्त अवधिको पूर्ण भाडा छुट दिने प्रालिले जानकारी दिएको छ ।

    दमौलीका सर्वसाधारणलाई मात्र नभई समग्र जिल्ला र छिमेकी जिल्लालाई समेत मध्यनजर गरी सुविधासम्पन्न मल निर्माण गरिएको न्यौपानेले बताए । “दमौलीका धेरै मानिसहरु सामग्री खरिद र चलचित्र हेर्नका लागि चितवन, पोखरा जानुपर्ने बाध्यता छ, अब त्यो बाध्यता हट्यो,” उनले भने ।