गण्डकीले चुन्यो समिति सभापतिः विधायनमा लामिछाने, लेखामा थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीले चुन्यो समिति सभापतिः विधायनमा लामिछाने, लेखामा थापा

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७८, बुधबार

    पोखरा : गण्डकी प्रदेशसभाअन्तर्गत दुईवटा संसदीय समितिमा सभापति चयन भएका छन् । सत्तापक्ष र प्रतिपक्ष साटिएपछि समितिको नेतृत्व पनि फरक परेको हो ।

    यसअघि प्रतिपक्षमा रहँदा कांग्रेसले पाएको सार्वजनिक लेखा समिति अब एमालेले पाएको छ भने यसअघि सत्तारुढ एमालेले पाएको विधायन समिति अब कांग्रेसको नेतृत्वमा रहनेछ । दुवै समितिमा सर्वसम्मत निर्वाचन भएको छ । सबै राजनीतिक दल मिलेर सभापति चयन गरेका हुन् ।

    कांग्रेसले पाएको विधायन समितिको सभापतिमा सदस्य विष्णुप्रसाद लामिछानेले उम्मेदवारी दिए । उनको प्रस्तावकमा जनमोर्चाकी पियारी थापा र समर्थकमा एमालेका राजीव पहारी छन् । यस्तै, लेखा समिति सभापतिमा रोशन गाहा थापाले मनोनयन दर्ता गराए । उनको प्रस्तावकमा कांग्रेस प्रमुख सचेतक ओमकला चालिसे र समर्थकमा माओवादीकी सचेतक गायत्री गुरुङ छन् । यसअघि लेखा समितिमा कांग्रेसका कुमार खड्का सभापति थिए भने विधायन समितिमा एमालेका मोहन रेग्मी सभापति थिए ।

    मनोनयन दर्ता गराएका दुवै सांसद नवलपुरका हुन् । नयाँ समीकरणमा सरकार बनेपछि अधिकांश पद नवलपुर केन्द्रित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि नवलपुरका हुन् । कांग्रेसले प्रमुख सचेतकसमेत नवलपुरबाटै ओमकला चालिसेलाई बनाएको छ ।

    गण्डकीमा चारवटा संसदीय समिति छन् । अर्थ तथा विकास समितिको सभापति माओवादीबाट दीपक कोइराला छन् भने प्रदेश मामिला सभापतिमा जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन् । कोइरालाबाहेक सबै सभापति नयाँ फेरिएका हुन् ।

    यसअघि जनमोर्चाकै कृष्ण थापा प्रदेश मामिला समितिको सभापति थिए । उनलाई पार्टी ह्विपविपरीत कारबाही गरिएपछि रिक्त रहेको पदमा जनमोर्चाकै शाहीलाई निर्वाचित गरेर पूर्ति गरिएको हो ।

    दुवै सभापतिको बिहीबार शपथ हुने बताइएको छ ।