संक्रमित छैनन्, परीक्षण पनि छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संक्रमित छैनन्, परीक्षण पनि छैन

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७८, बिहीबार

    दुलेगाैडा : तनहुँमा मंगलबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमित एक सय ३५ जना छन् । दैनिक संक्रमितको संख्या ओरोला लाग्दा सक्रिय संक्रमितको संख्या पनि घटेको हो ।
    जिल्लाका १० मध्ये २ स्थानीय तहमा सक्रिय संक्रमितको संख्या शून्य छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार घिरिङ र आँबुखैरेनी गाउँपालिकामा सक्रिय संक्रमित संख्या शून्य छ ।

    हाल संक्रमित शून्य भएका क्षेत्रमा भने परीक्षण शून्य छ । घिरिङमा २ सातादेखि कोरोना परीक्षण भएको छैन । त्यहाँ १६ भदौमा पछिल्लो पटक कोरोना परीक्षण भएको थियो । परीक्षण गरिएका ८ जनाकै रिपोर्ट नेगेटिभ देखियो । त्यसपछि कोरोना परीक्षण नभएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमाल बताउँछन् । ‘पहिलेको जस्तो जनस्तरमा गएर कोरोना परीक्षण गरिँदैन । ज्वरोका बिरामी, कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामीले कोरोना परीक्षण गर्नुप¥यो भनेमात्रै गर्छौं,’ उनले भने ।

    आँबुखैरेनी गाउँपालिकाले पनि पछिल्लो पटक २० भदौमा ५ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आयो । हप्ता दिन बढी भइसक्दा परीक्षण भएको छैन । कोरोनाको लक्षण देखिएका बिरामीलाई तुरुन्तै गाउँपालिकाले एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाएको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायको दाबी छ । संक्रमणदर घटेपछि परीक्षण कम गरेको उनले बताए । ‘सर्वसाधारणलाई बोलाएर परीक्षण भने भएको छैन । माग अनुसार गर्ने गरिएको छ,’ उनले भने ।

    अनिवार्य माक्सको प्रयोग गर्न लगाउने, भिडभाड बढी हुने स्थानमा प्रहरी प्रशासनसँगको सहकार्यमा नियन्त्रण गरेको कारण संक्रमण शून्यमा झार्न सफल भएको उपाध्याय बताउँछन् । भन्छन्, ‘देशैभर संक्रमण घटेको कारण पनि घटेको हो ।’

    ५ स्थानीय तहमा पनि १० जना भन्दा कम सक्रिय संक्रमित छन् । भानु नगरपालिाकमा ३ जना, भिमाद नगरपालिकामा ४ जना, ऋषिङ गाउँपालिकामा एक जना, देवघाटमा ५ जना र बन्दीपुर गाउँपालिकामा ६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दे गाउँपालिकामा १३ जना सक्रिय संक्रमित छन् ।

    भिमादका जनस्वास्थ्य अधिकृत मनुराज बरालका अनुसार यतिबेला गाउँ–गाउँमा पनि कोरोनासँग मिल्ने लक्षण भएका बिरामी देखिएका छैनन् । नगरपालिकाले शंकास्पद बिरामीको दैनिक जसो कोरोना परीक्षण गरिरहेको उनको दाबी छ ।

    ‘भिमाद स्वास्थ्य चौकीमा उपचार गराउन आएका बिरामी शंकास्पद भएमा परीक्षण गर्ने व्यवस्था गरेका छौं । यहाँका मेडिकल सञ्चालकलाई पनि शंकास्पद बिरामीलाई कोरोना परीक्षण गराउन पठाउन भनेका छौं । तर, पनि संक्रमित घटेका छन्,’ उनले भने, ‘यही अवस्थालाई कायम राख्न पाए हुने हो । तीजमा अनावश्यक भिडभाड बढ्यो, त्यसको प्रभावले फेरि संक्रमण बढ्ने हो कि !’
    संक्रमितको उच्च संख्या व्यास नगरपालिकामा रहेको छ । व्यासमा ७१ जना रहेकोमा शुक्लागण्डकी नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३२ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    भदौ सुरु भएपछि जिल्लामा कोरोनाको परीक्षण र संक्रमणदर दुवै घट्दो छ । जिल्लामा जारी गरिएको निषेधाज्ञा समेत खुकुलो पारिएको छ । राजनीतिक सरगर्मी बढेको छ । राजनीतिक भेलामा समेत स्वास्थ्यको मापदण्ड पालना भएको देखिँदैन । संक्रमणदर कम भएपछि भदौ दोस्रो सातादेखि जिल्लामा विद्यालय खोलेर भौतिक उपस्थितिमा पठनपाठन भइरहेको छ ।

    यी गतिविधिले तत्कालै संक्रमणदर ह्वात्तै नबढे पनि एक डेढ हप्तापछि नतिजा निस्कने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी बताउँछन् । उनी भन्छन्, ‘अहिले संक्रमणदर कम छ भनेर लापरवाही गर्ने कुरा होईन । भिडभाड कम गर्नुपर्ने देखिन्छ ।’ निषेधाज्ञामा भिडभाड गर्न नमिल्ने निर्णय भएपनि कसैले पालना नगरिदिएको उनको गुनासो छ ।

    जिल्लाको कुल सक्रिय संक्रमितमध्ये ७ जना मात्रै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा उपचाररत छन् । स्थानीय सरकारले बनाएका आइसोलेसन रित्तो बनेका छन् । दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बैशाखयता जिल्लामा ५ हजार २ सय ३५ जनालाई कोरोना पुष्टि भएको छ । ४ हजार ९ सय ८४ जना निको भएका छन् । १ सय १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । पहिलो चरणको कोरोनाले वर्ष दिनमा २५ जनाको ज्यान लिएको थियो । गत वर्षभन्दा यसपालि पाँच महिनाको अवधिमै कोरोनाले मृृत्यु हुनेको संख्या साढे ४ गुणा बढी हो ।