दमाैली : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा सजाय पाएका पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान, सामाजिक अपराध र सम्बन्धविच्छेद मुद्दामा अदालतबाट कैद तोकिएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दामा आँबुखैरेनी गाउँपालिका–४ भाँगेका २८ वर्षीय चन्द्रसिंह मगर पक्राउ परेका छन् । उनलाई जिल्ला अदालत तनहुँले विसं २०७५ असोज १७ गते ११ महिना सात दिन कैद र रु चार हजार जरीवानाको फैसला सुनाएको थियो ।
सवारी ज्यान मुद्दामै शुक्लागण्डकी नगरपालिका–८ का ३१ वर्षीय सुकबहादुर दमै पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले विसं २०७८ वैशाख ५ गते दुई वर्ष दश महिना नौ दिन कैदको फैसला सुनाएको थियो ।
सामाजिक अपराध मुद्दामा गोरखा पालुङटार नगरपालिका–७ का ३९ वर्षीय विशालजङ्ग शाही भन्ने जुननारायण विश्वकर्मा पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले विसं २०७७ फागुन २६ गते एक महिना कैद र रु दुई हजार दुइ सय जरीवानाको फैसला सुनाएको थियो ।
यसैगरी सम्बन्धविच्छेद र सवारी ज्यान मुद्दामै एक÷एक प्रतिवादी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका सबैलाई कैद भुक्तानका लागि आज तनहुँ अदालत उपस्थित गराइएको उनले बताए ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजीकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।