नेत्रविक्रम चन्द ‘विप्लव’ बन्दिपुरमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेत्रविक्रम चन्द ‘विप्लव’ बन्दिपुरमा

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७८, बिहीबार

    बन्दिपुर : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव तनहुँकाे बन्दिपुर आइपुगेका छन् । साे पार्टीकाे केन्द्रीय समिति बैठकमा सहभागी हुन विप्लव बिहीबार बन्दिपुर आइपुगेका हुन् । शुक्रबारदेखि नेकपाकाे केन्द्रीय कमिटी बैठक बन्दिपुरमा शुरु हुँदैछ ।

    बन्दिपुरको माउन्टेन रिसोर्टमा हुने बैठक असाेज ५ गतेसम्म सञ्चालन हुने साे पार्टीका जिल्ला सचिव एटमले जानकारी दिए । बैठकको लागि रिसोर्टको हल र सुत्नको लागि कोठा प्रयोग गरिएपनि बैठकमा सहभागी सदस्यहरुलाई खानाकाे मेस भने आफैले चलाउने उनले बताए ।

    बैठक हल होटल सञ्चालकले निशुल्क उपलब्ध गराएका छन् । बैठकमा केन्द्रीय समितिका ७६ जना सदस्य सहभागी हुने छन् । सो रिसोर्टमा केन्द्रीय सदस्य सहित नेताहरुको सुरक्षाको लागि पार्टीका पूर्व जनमुक्ति सेनाका सदस्य र युवाहरु गरी १ सय ५० जना बस्ने छन् ।

    बैठक कक्षमा पत्रकारलाई प्रवेश नदिईने र बैठक अवधिभर कुनैपनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाईने व्यवस्था गरिएको जिल्ला सचिव एटमले जानकारी दिए । बैठक सकिएपछि बन्दिपुरमा पार्टीको तर्फबाट नै पत्रकार सम्मेलन गर्ने बारेमा छलफल भएपनि निर्णय भईनसकेको उनले बताए । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुल्ला राजनीतिमा आएर पहिलो पटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।

    तस्वीर : बन्दिपुर पुगेका विप्लवसँग गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा ।