दमौली : व्यास नगरपालिका–३ मा अवस्थित जिल्लाकै नमूना व्यास बचत तथा ऋण सहकारी संस्थाले व्यास नगरपालिका–१ भादगाउँमा सेवा केन्द्र शुभारम्भ गरेको छ । सहकारीका शेयर सदस्यलाई सहज रुपमा सेवा प्रवाह गर्न सहकारीले शुक्रबारदेखि भादगाउँमा सेवा केन्द्र शुभारम्भ गरेको हो ।
उक्त सेवा केन्द्रको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले व्यास जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा विकास भएको बताए । सदस्यहरुलाई केन्द्रित गरेर सेवा केन्द्र खोलेर सहकारीले सकारात्मक कार्य गरेको वाग्लेले बताए । व्यास सहकारीको मर्म अनुसार चलेको बताउँदै वाग्लेले भने, “अब भादगाउँमा कुनै पनि बैङ्कको आवश्यकता पर्दैन, व्यासले बैङ्कको भन्दा पनि राम्रो सेवा प्रवाह गरिरहेको छ ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य केशबहादुर सुनार, व्यास–१ का वडाध्यक्ष खरसिं दरै, सत्यवती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सूर्यचन्द्र हड्खले, मिलन टोल विकास संस्थाका अध्यक्ष भक्त न्यौपाने लगायतले सेवा केन्द्र स्थापनापछि सहकारीका शेयर सदस्यहरुलाई कारोवार गर्न सहज हुने बताए ।
सेवा केन्द्रबाट बचत सङ्कलन, ऋण प्रवाह लगायतका सेवा प्रदान गरिने सहकारीका उपाध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए । “मुख्य कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा यहाँबाट दिन्छौ,” उनले भने, “शेयर सदस्यको माग र आवश्यकताका आधारमा सेवा केन्द्र स्थापना गरेका हौ ।” भादगाउँ क्षेत्रमा मात्रै व्यासका दुई सय शेयर सदस्य छन् । व्यास नगरपालिकाको बोर्ड बैठकले सेवा केन्द्र स्थापनाका लागि अनुमति दिएको थियो ।
सहकारीका अध्यक्ष प्रदीपराज अधिकारीले चालु आर्थिक वर्षमा शेयर सदस्य, पुँजी र कारोवार वृद्धि गर्ने रणनीति लिइएको बताए । सहकारीले सात सय ४ जना सदस्य वृद्धि गरी दुई हजार ४ सय ६९ सदस्य पु¥याउने लक्ष्य लिएको उनले बताए । त्यसका लागि समिति, उपसमिति मार्फत् विस्तार अभियान सञ्चालन गरिने अधिकारीले बताए। “एक सदस्यले अर्को एक सदस्य थप गर्ने अभियान सञ्चालन गर्छौ,” उनले भने, “विपन्न, एकल, उद्यमी, दैनिक ज्यालादारी, व्यवसायीलाई प्राथमिकताका साथ सहकारीमा आबद्ध गराई शेयर सदस्य बन्न प्रोत्साहित गर्ने रणनीति बनाएका छौ ।”