घरबाट शुरु भएको स्वास्थ्य केन्द्र आफ्नै भवनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घरबाट शुरु भएको स्वास्थ्य केन्द्र आफ्नै भवनमा

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७८, शनिबार

    बन्दिपुर : बन्दिपुर गाउँपालिका–२ कुकुर्दिमा रहेको कुकुर्दि आधारभूत स्वास्थ्य सेवा केन्द्रले आफ्नै भवनबाट सेवा दिन थालेको छ । संघीय सरकारको बजेटमार्फत गाउँपालिकाले भवन निर्माण गरेपछि केन्द्रले आफ्नै भवनबाट सेवा थालेको हो ।

    ३८ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको तीन कोठे पक्की भवनको गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले उद्घाटन गरे । यहाँ सात बर्ष अगाडी व्यक्तिको घरबाट स्वास्थ्य केन्द्रको सेवा सुरु भएको वडाध्यक्ष कृष्णप्रसाद लामिछाने बताउँछन् । ‘स्वास्थ्य संस्था आवश्यक भएपछि २०७१ सालमा बिष्णुलाल गुरुङको घरको एउटा कोठाबाट सुरु गरेका थियौँ । हामी जनप्रतिनिधि निर्वाचित भएर आएपछि आर्थिक बर्ष २०७५÷७६ को बजेटले खोप केन्द्रको भवन बनायौँ । घरबाट खोप केन्द्रमा सारेर स्वास्थ्य सेवा दिन थालियो’, वडाध्यक्ष लामिछाने सम्झन्छन् ।

    दुई कोठाको साँघुरो खोप केन्द्रबाट सेवा दिएको स्वास्थ्य सेवा केन्द्र आफ्नै भवनमा सरेर सेवा दिईरहेको उनले बताए । उनै विष्णुलाल गुरुङले तीन रोपनी जग्गादान गरेपछि स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो । बुधबार भवन उद्घाटनको अवसरमा गुरुङलाई सम्मान गरिएको छ ।

    बन्दिपुरकाे चार वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन बनाउन संघीय सरकारले बजेट उपलब्ध गराएको छ । वडा नम्बर १, २, ३ र ५ मा भवन बनाउन बजेट आएको स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए । वडा नम्बर ३ मा स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । ८ असोजमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । दुई वडामा स्वास्थ्य केन्द्र निर्माणधिन छन् । ‘आफ्नै भवन नहुदाँ व्यक्तिको घर, आमा समुहको भवनबाट सेवा प्रवाह भईरहेको छ’, भट्टराई भन्छन्, ‘पुर्वाधार अभावमा सेवा व्यवस्थित हुन सक्दैन । आफ्नै भवन भएपछि व्यवस्थित सेवा दिन सकिन्छ ।’

    बन्दिपुर गाउँपालिकामा ६ वडामा छन् । वडा नम्बर ४ मा अस्पताल छ । वडा नम्बर ६ मा पनि स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ । यो वडामा स्वास्थ्य चौकी पायक नपर्ने जनतालाई गाउँपालिकाले धरमपानीमा आधारभुत स्वास्थ्य सेवा केन्द्र चलाएको छ ।

    जनताको घरदैलोमा स्वास्थ्य सेवा पुग्नुपर्ने गाउँपालिका अध्यक्ष पुर्णसिं थापा बताउँछन् । ‘स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार हो । सकेसम्म घर घरमै पुगेर सेवा दिनुपर्छ’, उनले भने । अब गाउँपालिकाले प्रत्येक टोलमा महिनाको एक पटक डाक्टर पठाएर स्वास्थ्य सेवा दिने अभियान थाल्ने उनले बताए ।