दमाैली : तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दी खोलालाई स्वच्छ राख्न ‘स्वच्छ बुल्दी अभियान’ शुरु भएको छ । व्यास नगरपालिका क्षेत्रमा रहेको बुल्दी खोलालाई सफा र स्वच्छ राख्न रोट¥याक्ट क्लव अफ दमौली र रोटरी क्लव दमौलीले स्वच्छ बुल्दी अभियान शुरु गरेको हो ।
सामाजिक उत्तरदायित्व वहन गर्दै क्लवले उक्त अभियान शुरु गरेको रोट¥याक्ट क्लव अफ दमौलीका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिए । संविधान दिवसको अवसर पारेर क्लवले आइतबार उक्त अभियान शुभारम्भ गरेको हो ।
“संविधान जारी भएर हरेक नागरिकको हक अधिकार प्राप्त भएपनि सबैले आफ्नो कर्तव्य र दायित्वलाई आत्मसाथ गर्नुपर्छ,” उनले भने, “आफ्नो शहर र प्राकृतिक स्रोतको संरक्षण गर्न एउटा अभियान थालेका हौ ।” उनका अनुसार प्रत्येक महिनाको दुई वटा शनिबार बुल्दी सफाई अभियान सञ्चालन गरिनेछ । त्यसका लागि विभिन्न सङ्घसंस्थासँग समन्वय गरिने अधिकारीले जानकारी दिए ।
रोटरी क्लव दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले वातावरण संरक्षणका लागि रोटरी इन्टरनेशनलको मूल नारा रहेकाले यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
क्लवले बुल्दी सफाई अभियानसँगै बुल्दीको इतिहास र यसको सम्पदा रक्षाका लागि पनि आवाज उठाउने बताएको छ । अभियानकाे शुभारम्भकाे अवसरमा व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गणका सेनाहरुले सहयाेग गरेका थिए ।