दमौली : नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले तनहुँका दश वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । विभिन्न माग राख्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले सोमबार जिल्लाका दश वटै पालिकामा ज्ञापनपत्र बुझाएको हो।
व्यास नगरपालिकामा अध्यक्ष सिर्जना सिग्देलको नेतृत्वमा नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाएकी छन् । ज्ञापनपत्रमा स्वास्थ्य संस्था र शिक्षण संस्थाको हाता वरपर निश्चित दूरीसम्म धुम्रपान, मद्यपान, जुवातास निषेधित क्षेत्र घोषणा गर्न माग गरिएको छ । नगरपालिका अन्तरगतका हरेक माध्यमिक विद्यालयमा कम्तिमा एक जना स्टाफ नर्सको व्यवस्था गर्न, आमाको नामबाट नागरिकता प्राप्त गर्ने वातावरण सिर्जना गर्न, लैङ्गिक उत्तरदायी बजेट दश प्रतिशत व्यवस्था गरी जनचेतना, तालिम, सीप सिकाईमा प्रयोग गर्न, व्यास नगरपालिकालाई महिला हिंसामुक्त क्षेत्र घोषणा गर्न माग गरिएको छ ।