अर्थमन्त्री बरालद्वारा वडा कार्यालय भवन उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अर्थमन्त्री बरालद्वारा वडा कार्यालय भवन उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७८, सोमबार

    बन्दिपुर : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले तनहुँको बन्दिपुर गाउँपालिका–१ को नवनिर्मित वडा कार्यालय भवनको साेमबार उद्घाटन गरेका छन् । स्थानीयवासीले दान दिएको जग्गामा निर्माण सम्पन्न भएको भवनको अर्थमन्त्री बरालले उद्घाटन गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री बरालले सङ्घीयताको कार्यान्वयनसँगै सिंहदरवारका अधिकार गाउँमा आएकाले स्थानीय सरकारले जनताको भावना बमोजिम काम गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्री बरालले जनप्रतिनिधि जनताको सेवक भएको बताउँदै वडा कार्यालय भवन निर्माणपछि सहज रुपमा सेवा प्रवाह गर्न मद्दत पुग्ने धारणा व्यक्त गरे ।

    बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले स्थानीय तहका निर्वाचित भएको साढे चार वर्षको अवधिमा जनताको चाहना र आवश्यकतालाई मध्यनजर गरी विकासका काम गरिएको बताए । पर्यटन, कृषि, पूर्वाधार निर्माण, शिक्षा लगायतलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजना सञ्चालन गरेको थापाले जानकारी दिए । उपाध्यक्ष करुणा गुरुङले सबै वडा कार्यालयका आफ्नै भवन बनाउने नीति लिइएको बताइन् ।

    विसं २०७६ जेठ ११ गते शिलान्यास गरी शुभारम्भ गरिएको भवन हालै मात्र सम्पन्न भएको थियो । रु एक करोड लागतमा भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समिति तनहुँले गाउँपालिकालाई रु ८० लाख निकासा गरेको थियो । त्यसमा थप रकम गाउँपालिकाले बेहोरेको थियो ।

    यसअघि भाडाको घरमा सञ्चालित वडा कार्यालयले आजैदेखि नयाँ भवनबाट सेवा प्रवाह शुरु गरेको छ । भवन निर्माणपछि मासिक रु दश हजार बचत हुने पोख्रेलले बताए । “भाडाको साँघुरो घरमा कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा कठिनाई भएको थियो, अब नयाँ भवनबाट सहज रुपमा सेवा दिन सक्छौ,” पोख्रेलले भने ।

    वडा कार्यालयको भवन निर्माणका लागि बन्दिपुर गाउँपालिका–१ का कृष्णराज अधिकारीले ८ आना, कास्कीको घान्द्रुकका कुलप्रसाद गुरुङले ८ आना, बन्दिपुर गाउँपालिका–१ का सुनिल अधिकारीले तीन आना, पोखराका हेमबहादुर थापा, पूर्णकुमारी बराल, मोहनकुमारी कटुवाल र मानबहादुर थापाले संयुक्त रुपमा ८ आना जग्गा भवन निर्माणका लागि दान दिएका थिए ।