तीव्र गतिमा सवारी चलाउने राडर गनकाे फन्दामा !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीव्र गतिमा सवारी चलाउने राडर गनकाे फन्दामा !

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७८, सोमबार

    दमाैली : तीव्र गतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही शुरु गरेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा तीव्र गतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारवाही शुरु गरेको हो ।

    दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत् गति मापन गर्दै तीव्र गतिमा सवारी चलाउनेलाई कारवाही शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डिवी हमालले जानकारी दिए । उनका अनुसार सोमबार म्याग्दे गाउँपालिकास्थित गुणादीमा तीव्र गतिमा सवारी चलाउने ११ सवारी चालकलाई कारवाही गरिएको हो ।

    कारवाहीमा पर्नेमध्ये ९ जना मोटरसाइकल, एक जिप र एक बस चालक रहेका छन् । प्रति घण्टा÷किलोमिटर ६० भन्दा बढी गतिमा सवारी चलाउनेलाई कारवाही गरिएको हमालले जानकारी दिए । प्रहरीले पृथ्वीराजमार्गको तनहुँ खण्डमा अधिकतम ६० र घुम्तीहरुमा ४० प्रति घण्टा÷किलोमिटर गति निर्धारण गरेको छ । “सवारी दुर्घटनाको धेरैजसो कारण तीव्र गति हो, यसलाई नियन्त्रणका लागि राडर गनको प्रयोग गरी कारवाही थालेका हौ,” उनले भने, “यो अभियान निरन्तर रहनेछ ।”

    पृथ्वीराजमार्गमा यात्रा गर्ने ७० प्रतिशत भन्दा बढिले तीव्र गतिमा सवारी हाँक्ने गरेको कार्यालयले गरेको परीक्षणले देखाएको छ । राडर गनबाट गरिएको परीक्षण अनुसार मोटरसाइकल, प्राइभेट जीप, स्थानीय मिनीबस, खाली ट्रक लगायतले तीव्र गतिमा हाँक्ने गरेको पाइएको छ । राडर गनले कुन सवारी कति गतिमा गुडेको छ भन्ने बारेमा पत्ता लगाउने हुँदा गति कम गर्न यसले सहयोग गर्ने उनले बताए ।

    सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०७७÷७८ को अवधिमा ३७ पुरुष, ८ महिला र तीन बालकले ज्यान गुमाएका छन् । उक्त अवधिमा तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको थियो । त्यसक्रममा एक सय २८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए । कार्यालयका अनुसार मोटरसाइकल र स्कूटर ६६, ट्रक÷ट्याङ्कर १८, जिप÷कार १७, ट्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिप्पर दुर्घटना भएको थियो ।

    दुर्घटनामा ७६ जना गम्भीर र ५१ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेको छ । “तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको अनुसन्धानबाट पत्ता लागेको छ,” हमालले भने, “भर्खरका युवाहरुले जथाभावी सवारी हाँक्ने गरेकाले यो सङ्ख्या अत्याधिक छ ।”

    दुर्घटना कम गराउन प्रहरीले अभियान पनि सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । सवारी चालक र पैदललाई प्रशिक्षणदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लामा बढी जसो दुर्घटना पृथ्वीराजमार्गमा हुने गरेको छ । पृथ्वीराजमार्ग अन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन् ।