दमाैली : केपी शर्मा ओलीको सरकारले शुरु गरेका तनहुँका १३ सडकको योजना शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको छ । तत्कालिन प्रधानमन्त्री ओलीले सडक पूर्वाधार कार्यक्रमतर्फ शिलान्यास गरेका तनहुँका १३ सडकको योजना वर्तमान सरकारले खारेज गरेको हो ।
बजेट नभएको भन्दै देउवा नेतृत्वको सरकारले सडक आयोजना खारेज गरिदिएपछि तनहुँका १३ सडकको भविष्य अन्यौलमा परेको छ । ओली नेतृत्वको सरकारले जिल्लाका १३ सडकलाई २४ लाखका दरले तीन करोड १२ लाख बजेट विनियोजन गरेको थियो । एमाले सरकारले सबै ठाउँमा सडकको पहुँच पु¥याउने भनेर तनहुँका ४१ सहित देशभरका १४ सय १० सडक आयोजना शुरु गरेको थियो । नयाँ सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटमा संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याएका छन् ।
खारेजमा परेका सडक योजनामा दमौली छाब्दी मोटरमार्ग–व्यास नपा, बन्दिपुर गापा सडक, बन्दिपुर थारुवास कुवाडी हुँदै ढाडखोला बुद्धसिंह मार्ग जोड्ने बन्दिपुर गापा सडक, भीमकाली मार्ग (तनहुँको भिमादेखि स्याङ्जाको चापाकोट नगरपालिका ६ को केलादीघाट हुँदै पाल्पाको रामपुर नपा हुँदै आर्यभञ्ज्याङ), ढोरावाराही मार्ग–दुलेगौडा–शुक्लागण्डकी नपा–सालडाँडा स्याङ्जा–बिरुवा चित्रेवास रामपुर पाल्पा सडक, तनहुँको तुरतुरे हुँदै गोरखा (पालुङटार हवाइग्राउण्ड) लमजुङ (गरमवेशी–धमिलीकुवा)–बोराङखोला–विचौर दूधपोखरी सडक, छिम्केश्वरी मार्ग आँबु छिम्केश्वरी हिलेखर्क बरादीसम्म सडक कालोपत्रे, म्याग्दे गाउँपालिका–७ पिपलचौरदेखि गापा भवनसम्म जाने सडक, कालीमाटी लौडारीभञ्ज्याङ हुँदै रतनपुर चन्द्रावती सडक, व्यास नगरपालिका–७ कलेस्ती–गजौडे–विर्ता–सँुगेरे–भञ्ज्याङ हुँदै भानु नपा वडा नं ६ टुहुरेपसल–अर्चले–भञ्ज्याङ–रामघाटार–पाँचसय फाँट (मिर्दी–मस्र्याङ्दी मार्ग ३२ किमि) सडक, ऋषिङ गाउँपालिका झापुटार भिरकोट सडक कालोपत्रे, बुल्दीखोला–शिवालय–पृथ्वीराजमार्ग हुँदै घाँसीकुवा–शेरा–मूलपानी–मान्द्रे–पड्केपसल (बागेश्वरी मार्ग), दमौली छाब्दी रामकोट बन्दिपुर सडक, झापुटार–चालिसे सडक, गाईघाट गल्याङ सडक खारेजीमा परेका हुन् ।