तनहुँमा आइपुग्यो १८ हजार ८ सय भेरोसेल खोप (कसले पाउँछन् ?)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा आइपुग्यो १८ हजार ८ सय भेरोसेल खोप (कसले पाउँछन् ?)

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७८, मंगलवार

    दमाैली : तनहुँमा १८ हजार ८ सय भेरोसेल खोप आइपुगेको छ । सरकारले असोज १४ गतेभित्र पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेभित्र दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । सोही बमोजिम जिल्लामा पनि खोप आइपुगेको र स्थानीय तहले खोप अभियान सञ्चालनको तयारी गरेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

    उनका अनुसार यो खोप ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीले पाउनेछन् । यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्ति समेतलाई खोप दिइनेछ ।

    जिल्लाको आँबुखैरेनी गाउँपालिकाले असोज ७ र ८ गते खोप अभियान सञ्चालन गर्दैछ । ८ वटा स्वास्थ्य केन्द्रमार्फत् खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

    सत्रसय आधारभूत स्वास्थ्य केन्द्र, तिलबारी आधारभूत स्वास्थ्य केन्द्र, आँबुखैरेनी स्वास्थ्य चौकी, आमडाँडा शहरी स्वास्थ्य केन्द्र, भाँगे आधारभूत स्वास्थ्य केन्द्र, छिम्केश्वरी स्वास्थ्यचौकी, देउराली स्वास्थ्य चौकी र प्युघर शहरी स्वास्थ्य केन्द्रमार्फत् खोप अभियान सञ्चालन गरिने भएको छ ।

    भानु नगरपालिकाले असोज ६ गते खोप अभियान सञ्चालन गर्ने भएको छ । भिमाद नगरपालिकाले असोज ५ र ६ गते खोप अभियान सञ्चालन गर्दैछ । ९ वटा स्वास्थ्य केन्द्रमार्फत् खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत मनुराज बरालले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्रका एक हजार सात सय ५१ जना लक्षित सङ्ख्या रहेकामा तीन सय ४० भायल खोप उपलब्ध भएको छ ।

    व्यास नगरपालिकाले असोज ७ गतेदेखि खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।