काठमाडौं : साहस उर्जा लिमिटेडले असोज ६ गते बुधबारबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिन्छ । साहसको आइपीओ असोज १० गतेसम्म भर्न सकिन्छ । उक्त अवधिमा सबै आइपीओ बिक्री नभएमा भने असोज २० गतेसम्म खुला रहनेछ ।
लगानीकर्ताले सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आइपीओ बिक्रीपछि यसको कुल सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
रेटिङ
रेटिङ एजेन्सी इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ । इक्राले २०७७ असोज २१ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ यही असोज २० गतेसम्म मात्र बाहल रहनेछ ।
कति कित्ताका लागि दिने आवेदन ?
साहस उर्जाले तुलनात्मक रुपमा पछिल्लो समय खुलेका हाइड्रोपावर कम्पनीको भन्दा धेरै संख्यामा सेयर खुला गर्न लागेको छ । कुल ७० लाख कित्ता आइपीओमध्ये ६४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यद्दपि, पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । प्रत्येक आइपीओमा २४ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिन थालेका छन् ।
न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ६ लाख ४० हजार जनाले मात्र सेयर हात पार्नेछन् । यस आधारमा हेर्ने हो भने सहासको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । आवेदन कति कित्ताका लागि दिने भन्ने निर्णय नितान्त लगानीकर्ताकै हातमा रहेको छ ।
आयोजना सम्बन्धी विवरण
साहस उर्जा लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत साहस उर्जा प्राईभेट लिमिटेडको नामबाट मिति २०७० माघ १९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । यस्तै, मिति २०७१ भदौ २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्रा.लि. बाट परिवर्तन भई पब्लिक लिमिटेडको रुपमा साहस उर्जा लिमिटेडको नामबाट दर्ता भएको थियो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १, हात्तीसारमा रहेको छ । आयोजनास्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु भने सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिका, सोलुखुम्बु जिल्लामा अवस्थित रहेको छ । कम्पनीले सोलु खोलाको पानी प्रयोग गरी ८६ मेगावाट क्षमताको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०७१ असोज २ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विसं २१०६ असाज १ गतेसम्म बाहल रहनेछ । यस आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड १ लाख १३ हजार रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १३ करोड ७९ लाख ७ हजार रुपैयाँ छ । (नेपाली पैसा डटकम)