दमाैली : तनहुँ उद्योग वाणिज्य सङ्घले व्यास नगर कोभिड अस्पताललाई रु तीन लाख एक हजार एक सय ५६ सहयोग गर्ने निर्णय गरेको छ । व्यास नगरपालिकाले वडा नम्बर १० दुम्सीमा सञ्चालन गर्न लागेको कोभिड अस्पतालका लागि सङ्घले उक्त सहयोग गर्न लागेको हो ।
सङ्घको बुधबार बसेको कार्यसमितिको बैठकले कोभिड महाअभियान कोष मार्फत् नगर अस्पताललाई सहयोग गर्न लागिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । महाअभियान कोषमा देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । सोही कोषबाट सङ्घले जिल्लाका दश वटै स्थानीय तह र स्वास्थ्य संस्थामा समेत स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
२५ शय्याको अस्पताल सञ्चालन गर्ने उद्देश्यका साथ हाल पाँच शय्या व्यवस्थापन गरिएको छ । कोभिड सङ्क्रमितको उपचारका लागि आफ्नै अस्पताल स्थापना गर्ने पूर्व निर्णय बमोजिम नगरपालिकाले अस्पताल बनाएको हो ।
सोही अस्पतालमा नगरपालिकाले पिसिआर प्रयोगशाला समेत सञ्चालन गर्नेछ । पिसिआर प्रयोगशालाले जनस्वास्थ्य प्रयोशालाबाट अनुमति पाइसकेको छ । पिसिआर प्रयोगशालाको बिहीबार उद्घाटनको तयारी थालिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले प्रयोगशालाका मेसिनको सम्पूर्ण मापदण्ड पुगेकाले अब पिसिआर परीक्षणको तयारी गरिएको जानकारी दिए ।