सञ्चालनमा आयो पिसिआर प्रयोगशाला, मन्त्रीले गरिन् उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सञ्चालनमा आयो पिसिआर प्रयोगशाला, मन्त्रीले गरिन् उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७८, बिहीबार

    दमाैली : कोरोना महामारीले आक्रान्त भएको समयमा पिसिआर रिपोर्ट आउनै ८÷९ दिन लाग्यो । स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने र त्यसको रिपोर्ट आउन ढिलाई भएपछि तनहुँको व्यास नगरपालिकालाई उपचारमा समेत समस्या प¥यो ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालामा प्रदेशभरको स्वाबको परीक्षण गर्नुपर्ने र रिपोर्ट आउन ढिलाई भएपछि व्यास नगरपालिका आफै पिसिआर प्रयोगशाला स्थापनाका लागि कस्सियो । सोही बमोजिम लामो समयको प्रयासपछि व्यास नगरपालिकाले पिसिआर प्रयोगशाला स्थापना गर्न सफल भएको छ ।

    सङ्घीय सरकार, प्रदेश सरकार, व्यास नगरपालिका, विभिन्न सङ्घसंस्थाको सहयोगमा नगरपालिकाले व्यास–१० दुम्सीमा पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । उक्त प्रयोगशालाको बिहीबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारीले उद्घाटन गरेकी छन् ।

    पिसिआर प्रयोगशाला सञ्चालनका लागि सङ्घीय सरकारले रु ५० लाख, गण्डकी प्रदेश सरकारले र २५ लाख, व्यासका जनप्रतिनिधिले रु १३ लाख, कर्मचारीले रु आठ लाख, हेफर इन्टरनेशनले रु चार लाख, तनहुँ समाज हहकङ र तनहुँ समाज अष्ट्रे्लियाले रु दुई÷दुई लाख, तनहुँ उद्योग वाणिज्य सङ्घले रु तीन लाख एक हजार एक सय ५६ सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । उनका अनुसार पिसिआर प्रयोगशाला स्थापनार्थ रु एक करोड ७ लाख ७६ हजार प्राप्त भएको छ भने पिसिआर प्रयोगशाला सञ्चालनका लागि रु एक करोड ३२ लाख १५ हजार दुई सय ६८ खर्च भएको छ ।

    प्रयोगशाला सञ्चालनका लागि रु २५ लाख ८७ हजार सात सयमा पिसिआर मेसिन, रु दश लाख २० हजार तीन सय ९० मा जेनेरेटर, रु ५७ लाख सात हजार एक सय ७८ मा अन्य उपकरण, रु पाँच लाखमा ल्यापटप÷कम्प्युटर र रु पाँच लाखमा फर्निचर खरिद गरिएको छ भने पूर्वाधार निर्माणमा रु २९ लाख खर्च भएको छ । प्रयोगशालामा दुई जना विएमएलटि र तीन जना सिएमएलटिका स्वास्थ्यकर्मी नियुक्त गरिएको छ ।

    पिसिआर प्रयोगशालामा आजबाटै परीक्षण शुरु गरिने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । प्रयोगशालाबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टा प्राप्त हुन्छ । “जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडी स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो, अब जिल्लामै सहज रुपमा छिटो छरितो परीक्षण हुन्छ,” सोतीले भने।

    पिसिआर प्रयोगशाला उद्घाटन समारोहमा मन्त्री अधिकारीले पिसिआर प्रयोगशाला सञ्चालनका लागि स्थानीय सरकार कस्सिनु सकारात्मक रहेको बताइन् । कोरोना महामारी नियन्त्रणमा सङ्घ, प्रदेश र स्थानीय सरकारको हातेमालो आवश्यक रहेकामा मन्त्री अधिकारीले चर्चा गरिन् ।

    कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रहेको बताउँदै मन्त्री अधिकारीले केही दिन अगाडी मात्रै आँबुखैरेनीमा निगरानी केन्द्र स्थापना गरिएको बताइन् । स्वास्थ्य क्षेत्र आफैमा संवेदनशील रहेको बताउँदै मन्त्री अधिकारीले सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको उल्लेख गरिन् ।

    कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा लगायतले व्यासले स्थापना गरेको पिसिआर प्रयोगशालाबाट जिल्लाभित्रका र छिमेकी पालिकाका सर्वसाधारण समेत लाभान्वित हुने बताए ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबैको सहयोग र सहकार्यबाट पिसिआर प्रयोगशाला स्थापना गर्न सकिएको भन्दै सहयोगदाताप्रति आभार व्यक्त गरे। सोही ठाउँमा नगरपालिकाले पाँच शय्याको कोभिड अस्पताल पनि सञ्चालनमा ल्याइसकेको छ । कोभिड अस्पताललाई थप सुविधासम्पन्न बनाउने नगरप्रमुख न्यौपानेले बताए ।