कांग्रेसको गाउँ/नगर अधिवेशन : नेतृत्वका लागि आकाङ्क्षा समेत देखाउँदैनन् महिला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेसको गाउँ/नगर अधिवेशन : नेतृत्वका लागि आकाङ्क्षा समेत देखाउँदैनन् महिला

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७८, बिहीबार

    दुलेगाैडा : ८५ वटै वडाको अधिवेशन सकाएको तनहुँ कांग्रेसलाई गाउँ तथा नगर अधिवेशनको चटारोले छोएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँका ६ गाउँपालिका र चार नगरपालिकाको अधिवेशन ९ असोजमा हुनेछ ।

    अधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वमा पुग्न उम्मेदवारी घोषणा गर्ने र आकाङ्क्षा व्यक्त गर्नेहरु बढेका छन् । उम्मेदवारी घोषणा गर्ने र आकाङ्क्षा व्यक्त गर्ने माध्यम सामाजिक सञ्जाल बनेको छ । जिल्ला सदरमुकाम रहेको व्यास नगरपालिकामा त पत्रकार सम्मलेन गर्दै उम्मेदवारी घोषणा पनि धमाधम भइरहेका छन् ।

    गाउँ÷नगरको नेतृत्व सम्हाल्न उम्मेदवारी दिने आकाङ्क्ष व्यक्त गर्नेको भिडमा महिलाको सङ्ख्या नगन्य छ । महिलालाई रोलक्रम र कोटामा मात्रै सीमित पारियो भन्ने आरोप लाग्दै आएको बेला महिला स्वयंम नेतृत्व तहमा पुग्नलाई आकाङ्क्षा समेत व्यक्त गर्न नसकेको देखिन्छ ।
    व्यास नगरपालिकामा सभापति पदमा नौ जनाले उम्मेदवारी घोषणा गर्दा महिलाको सङ्ख्या भने शुन्य छ । उपसभापति, सचिव, सहसचिव पदमा पनि महिलाले अहिलेसम्म उम्मेदवारी दिएको पाइँदैन । खुलेर आकाङ्क्षा व्यक्त समेत गरेका छैनन् ।

    शुक्लागण्डकी नगरपालिकामा उपसभापति पदमा सपना पराजुलीले सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत उम्मेदवारी घोषणा गरेकी छन् । १४ औँ महाधिवेशन अन्तर्गत गाउँ÷नगर अधिवेशनमा कार्यकारी पदमा उम्मेदवारी घोषणा गर्न हिम्मत जुटाएकी छन् पराजुलीले ।

    समावेशीताका लागी आफूले उम्मेद्वारी घोषणा गरेको उनले बताइन् । ‘हामीलाई सधैँ ठाउँ दिइएन मात्रै भन्ने गर्छौँ । खोजेर लिन जान्दैनौँ । चाहियो नभनेपछि ला भन्दै कस्ले दिन्छ ? महिलालाई पद दिन्छन् की दिँदैनन् त्यसैको परीक्षणका लागि पनि मेरो उम्मेदवारी हो,’ उनले भनिन् । आकाङ्क्षी नभएकै कारण महिला कोटामा सीमित रहेको पराजुलीको ठम्याई छ ।

    यस्तै, तनहुँ क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शुक्लागण्डकीकै लक्ष्मी सिग्देलले पनि उम्मेदवारी दिने घोषणा गरेकी छन् । यी दुई बाहेक अरु महिला नेतृले खुलेर आकाङ्क्षा व्यक्त गर्न नसकिरहेको अवस्था छ ।

    महिला आकाङ्क्षी धेरै भएपनि पर्ख र हेरको स्थितिमा रहेको कांग्रेस नेतृ सरिता गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘योगदानको आधारमा पद पाउनुपर्छ भन्ने धेरै छन् । पहिल्यैदेखि पेलिँदै आएको भएर महिला दिदी बहिनीले उम्मेदवारी सार्वजनिक गर्न डराएका हुन । आकाङ्क्षी भएर उम्मेदवारी दिँदा कतै पाखा लगाईदिने त होइनन् भनेर पनि कतिपय सार्वजनिक भएका छैनन् ।’

    पार्टीको विधानले सात जना पदाधिकारीमा महिला अनिवार्य उल्लेख नगर्दा महिला झनै पछाडी पर्ने उनको भनाई छ । “सात जना पदाधिकारी भनिएको छ । तर, महिला उल्लेख छैन । सम्भावना कम देखेर पनि आकाङ्क्षा व्यक्त गर्न सकिरहेको अवस्था छैन्,’ गण्डकी प्रदेशसभा सदस्य समेत रहेकी गुरुङले भनिन् ।

    जिल्लाका ८५ वडामा सम्पन्न कांग्रेसको वडा अधिवेशनमा चार जना मात्रै महिला सभापति बनेर नेतृत्वमा पुगेका छन् । समावेशीताको नारा लगाउने कांग्रेसले महिलालाई नेतृत्व तहमा ल्याउन सकिरहेको छैन् ।

    पुरुषवादकै कारण महिला नेतृत्वमा आउनलाई आकंक्षा समेत व्यक्त गर्न नसेकेको नेपाल महिला संघ तनहुँकी सभापति पवित्रादेवी पौडेल बताउँछिन् । महिलालाई हेर्ने दृष्टिकोण दोस्रो दर्जाको रहेको पौडेलको भनाई छ । ‘महिलामा पनि हामी दोस्रो दर्जाका हौँ भन्ने मानसिकता कायम छ । नेतृत्वमा आउने प्रयासमा धेरै छन् । तर, जिद्धी गरेर आउन सकिरहेका छैनन्’, उनले भनिन् । विगतका तुलनामा धेरै महिला नेतृत्वमा आउने तरखरमा रहेको उनले दाबी गरिन् । नेतृत्व तहसम्म पुग्न पार्टीपंक्ति, घर परिवार र समाजले साथ दिनुपर्ने पौडेलको तर्क छ ।

    यी हुन तनहुँमा गाउँ÷नगर सभापतिका दाबेदार

    व्यास नगरपालिकामा सभापति बन्ने दौडमा आधा दर्जन बढीले उम्मेदवारी घोषणा गरिसकेका छन् । मोहनकुमार श्रेष्ठ, चुडामणि दाहाल, डम्बर अधिकारी, सूर्यचन्द्र हड्खले, हरिदत्त पौडेल, डा. शेषरमण न्यौपाने र बैकुण्ठनाथ मिश्रले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

    शुक्लागण्डकी नगरपालिकामा पनि सभापतिका आकाक्षी धैरै देखिन्छन् । पुराना नेता गोपिबहादुर गुरुङ, खेमराज खनाल, सन्तोष घिमिरे, कृष्णप्रसाद रेग्मी, यामबहादुर खाँणले उम्मेद्वारी घोषणा गरेका छन् । सर्वसम्मत भए पुराना नेता गुरुङलाई यसपालि नगर सभापति बनाउने पार्टीको आन्तरिक तयारी हो ।

    भिमाद नगरपालिकामा पनि नगर सभापतिका आकंक्षी धेरै छन् । दयानिधि पौडेल, चित्रबहादुर राना, अर्विन श्रेष्ठ, रामकृष्ण थापा र टेकबहादुर थापा नगर सभापति बन्न चाहान्छन् ।

    भानु नगरपालिकामा दुई जना मात्रै देखिन्छन् आकंक्षी । रामकुमार श्रेष्ठ र नविनराज दाहालले यसपाली नगर सभापति बन्ने ईच्छा प्रकट गरेका छन् । म्याग्दे गाउँपालिकामा चार जना सभापति बन्ने दौडमा रहेको छन् । विनोद खनाल, पुर्णचन्द्र घिमिरे, रामभक्त घिमिरे र नरसिहं राना आकंक्षी रहेको बताईन्छ ।

    घिरिङ गाउँपालिकामा पनि सभापतिको दाबेदार धेरै देखिएका छन् । हालका सभापति इमानसिंह थापा सहमति भएमा फेरी दोहोरिन चाहान्छन् । यस्तै, चुननारायण श्रेष्ठ, सुमन थापा, गंगाराम कुमाल र पशुपति पोखरेल पनि सभापतिका दाबेदार हुन् । ऋषिङ गाउँपालिकामा दानबहादुर श्रेष्ठ र तिलबहादुर थापा सभापति बन्न दौडधुप गरिरहेका छन् ।

    बन्दिपुर गाउँपालिकामा ८ जना सभापतिका आकांक्षी थिए । लामो छलफलपछि आकांक्षी दुई जनामा मात्रै भएका छन् । बैंश गुरुङ र कर्ण खत्रीले सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । आँबुखैरेनी गाउँपालिकामा बिष्णु पन्थ, प्रितम गुरुङ, रत्नकुमार श्रेष्ठ र ऋषि केसी लगायतले सभापति बन्ने चाहना व्यक्त गरेको पार्टी स्रोतले जनाएको छ । देवघाट गाउँपालिकामा पनि दुई जना आकंक्षी छन् । पार्टी स्रोतले दिएको जानकारी अनुसार तिलबहादुर थापा र अर्जुन अधिकारी सभापतिका दाबेदार हुन् ।