आफ्नै भवनमा सर्दै बन्दिपुरका स्वास्थ्य केन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आफ्नै भवनमा सर्दै बन्दिपुरका स्वास्थ्य केन्द्र

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७८, शुक्रबार


    दुलेगौँडा : बन्दिपुर गाउँपालिकाका आधारभूत स्वास्थ्य सेवा केन्द्र धमाधम आफ्नै भवनमा सर्न थालेका छन् । शुक्रबारदेखि बन्दिपुर–५ कल्चोकस्थित कल्चोक आधारभूत स्वास्थ्य सेवा केन्द्र पनि आफ्नै भवनमा सरेको छ । गत सातादेखि बन्दिपुर गाउँपालिका–२ कुकुर्दिमा रहेको कुकुर्दि आधारभूत स्वास्थ्य सेवा केन्द्रले पनि आफ्नै भवनबाट सेवा दिन थालेको छ ।

    कल्चोक आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले उद्घाटन गरे । ३८ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए । अध्यक्ष थापाका अनुसार आफ्नो भवन नहुँदा कल्चोक स्वास्थ्य चौकीले क्लबको भवनबाट वडाबासीलाई स्वास्थ्य सेवा दिदै आईरहेको थियो ।

    बन्दिपुरको चार वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन बनाउन संघीय सरकारले बजेट उपलब्ध गराएको थियो । वडा नम्बर १, २, ३ र ५ मा भवन बनाउन बजेट आएकामा दुई वडाको निर्माण सकिएको छ । अब दुई वटा वडाको भवन निर्माणाधीन रहेको छन् । ‘दुई वटा वडाको पनि भवन निर्माण लगभग सकिएको छ । फिनिसिङको काम बाँकी हो’, अध्यक्ष थापाले भने । यी दुई स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको सबै स्वास्थ्य केन्द्रले आफ्नै भवनबाट सेवा दिने उनको भनाई छ ।

    बन्दिपुर गाउँपालिकामा ६ वडामा छन् । वडा नम्बर ४ मा अस्पताल छ । वडा नम्बर ६ मा पनि स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ । यो वडामा स्वास्थ्य चौकी पायक नपर्ने जनतालाई गाउँपालिकाले धरमपानीमा आधारभुत स्वास्थ्य सेवा केन्द्र चलाएको छ । पुरानो भवनलाई धरमपानीको स्वास्थ्य केन्द्रले प्रयोग गरेको छ ।