सभापति एउटै, अरु पदमा प्यानल !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सभापति एउटै, अरु पदमा प्यानल !

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७८, शनिबार

    दुलेगाैडा : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको गाउँ तथा नगर अधिवेशन तनहुँमा शनिबार हुँदैछ । जिल्लाका १० स्थानीय तहमा अहिलेसम्मको स्थितीमा कहीँकतै सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना देखिएको छैन । सर्वसम्मत नेतृत्वको प्रयास भने जारी छ ।

    गाउँ तथा नगर समितिमा रहेर नेतृत्व हाँक्न आकंक्षीले धमाधम उम्मेद्वारी दिइरहेका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा पनि प्यानल सहित उम्मेदवारी घोषणा भएको छ । अचम्म त के छ भने उम्मेदवारी घोषणा गरेका दुवै प्यानलले सभापतिको उम्मेदवार एउटै व्यक्तिलाई बनाएका छन् ।

    बिहीबार सभापतिमा ७९ वर्षीय गोपीबहादुर गुरुङ सहित टिमले उम्मेदवारी घाेषणा गर्याे । संस्थापन पक्ष शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सहमहामन्त्री गोविन्दराज जोशी गुटको संयुक्त प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको हो ।

    केन्द्रीय सदस्य प्रदिप पौडेलको गृह नगरमा उनी निकटलाई वाइपास गरेर घोषणा गरिएको प्यानलको उपसभापतिमा सपना पराजुली र बालकृष्ण पौडेल उम्मेदवार बनेका छन् । सचिवमा मदन श्रेष्ठ, धिरजबिक्रम खाँण ठकुरी, सहसचिवमा विष्णुहरि पन्थी र टेकनारायण कोइरालाले उम्मेदवारी दिएका छन् ।

    बिहीबार र शुक्रबारको लामो रस्साकस्सीपछि प्रदीप पौडेलको प्यानलले पनि उम्मेदवारी दिएको छ । सभापतिमा भने उनै गोपिबहादुर गुरुङलाई समर्थन गरिएकाे छ । आजसम्म अन्य कसैले सभापतिमा दाबी नगरे पुराना नेता गुरुङ सर्वसम्मत नगरसभापति बन्नेछन् । यसअगाडी पनि उनै गुरुङलाई सर्वसम्मत बनाउन यहाँका नेता कार्यकर्ता सहमत थिए ।

    पौडेल प्यानलबाट उपसभापतिमा कृष्णप्रसाद रेग्मी र भिमादेवी खत्री (मञ्जु) ले उम्मेदवारी दिएका छन् । सचिवमा शिवराज रेग्मी र दिपेन्द्र पौडेल, सहसचिवमा राजेश खनाल र भिष्म श्रेष्ठ छन् । सर्वसम्मतको प्रयास हुँदाहुँदै गुटबन्दी भएपछि प्यानल सहितको उम्मेदवारी घोषणा गर्नुपरेको पौडेल प्यानलबाट उपसभापतिमा उम्मेद्वारी दिएका कृष्णप्रसाद रेग्मीले बताए । सभापतिमा भने गुरुङले पार्टीमा पु¥याएको योगदानको सम्मान गर्दैै सर्वसम्मतको वातावरण बनाएको उनको भनाई छ ।

    ‘पार्टीमा अत्यन्तै योगदान पु¥याएको मान्छे हो उहाँ । उहाँको विरुद्धमा लाग्न हामीलाई सुहाउँदैन् । उहाँलाई सम्मान गर्दै सर्वसम्मतको वातावरण बनाएका हौँ’, उनी अगाडी भन्छन्, ‘हामी अरु पदमा पनि सर्वसम्मतको प्रयास गर्नुपर्छ भन्नेमा थियौँ । उहाँहरुले एकलौटी टिम बनाएर लागेपछि अरु पदमा उम्मेद्वारी दिन बाध्य भयौँ ।’ बुढा नेताले चलाउदै आएको कांग्रेसमा यसपालि वडा अधिवेशनमा युवापुस्ता पनि उदाएका छन् । गाउँ तथा नगर कमिटिको कार्यकारी पदमा पनि तनहुँका केही आशा लाग्दा युवा नेता उम्मेदवारी दिएका छन् ।