दमाैली : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तनहुँका आठ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशन अन्तर्गत जिल्लाका तीन नगरपालिका र पाँच गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो । दुई पालिकामा भने अधिवेशन स्थगित भएको छ ।
व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो भने भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा भने अधिवेशन स्थगित भएको छ । त्यसमध्ये शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिका र घिरिङ गाउँपालिकाको सभापति भने सर्वसम्मत चयन भएका हुन् । अन्यमा निर्वाचन भएको थियो ।
सबैभन्दा बढी मतदाता रहेको व्यास नगरपालिकाको सभापतिमा सूर्यचन्द्र हड्खले निर्वाचित भएका छन् । सभापतिका प्रत्यासी डम्बरबहादुर अधिकारीलाई पराजित गर्दै हड्खले निर्वाचित भएका हुन् । हड्खलेले दुई सय ८२ मत प्राप्त गर्दा अधिकारीले एक सय ४१ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा शोभा बढु अधिकारी तीन सय ३० र क्या. सुर्जकुमार मल्ल दुई सय ९४ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी सुरेन्द्र पौडेलले ८८ र सुजन वाग्लेले ९० मत प्राप्त गरे । सचिवमा खेमराज पोखरेल दुई सय ८१ र सुरेश पुरी दुई सय ८९ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी सरोज भण्डारीले दुई सय एक र सुनिल रिजालले ४१ मत प्राप्त गरे । नगरको सहसचिवमा भने किशोरराज खनाल र मनबहादुर रुचाल निर्विरोध निर्वाचित भएका थिए ।
भानु नगरपालिकाको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सभापतिका प्रत्यासी नवीनराज दाहाललाई पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । श्रेष्ठले एक सय ३९ मत ल्याउँदा दाहालले एक सय २५ मत प्राप्त गरेका छन् । कूल दुई सय ७५ मतदाता रहेकामा दुई सय ७१ मत खसेको थियो ।
उपसभापतिमा उर्मिला पन्त एक सय ४१ र राजन श्रेष्ठ एक सय ५३ मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा सीताराम बानिया एक सय ३६ र दिपेन्द्र अधिकारी एक सय २६ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवमा सुदिप केसीले एक सय ५७ र नवीन रानाभाटले एक सय २६ मत प्राप्त गरी विजयी भएका छन् ।
देवघाट गाउँपालिकाको सभापतिमा तिलबहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् । आँबुखैरेनी गाउँपालिकाको सभापतिमा विष्णु पन्थ निर्वाचित भएका छन् । उनले ५६ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी प्रितम गुरुङले ३९ मत प्राप्त गरेका छन् ।
बन्दिपुर गाउँपालिकामा कर्ण खत्री निर्वाचित भएका छन् । खत्रीले ६७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी वैश गुरुङले ४५ मत प्राप्त गरेका छन् । यसैगरी उपसभापति पदमा कृष्णराज अधिकारी र गणेशबहादुर गुरुङ निर्वाचित भएका छन् । अधिकारीले ७२ र गुरुङले ९३ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार घनश्याम उपाध्यायले ४५ मत प्राप्त गरेका छन् । अन्य पद भने सर्वसम्मत भएको छ । सचिवमा कर्णबहादुर गुरुङ र सुनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा चन्द्रबहादुर कार्की र रामचन्द्र भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी म्याग्देको सभापतिमा रामभक्त घिमिरे निर्वाचित भएका छन् । घिमिरेले एक सय ९ मत प्राप्त गर्दा प्रतिस्पर्धी विनोद खनालले ३९ मत प्राप्त गरेका थिए । गाउँ समितिको उपसभापतिमा चिनीमाया थापा एक सय ३१ र पुष्पराज खनाल एक सय १० मत प्राप्त गरी विजयी भएका छन् । उपसभापतिका प्रत्यासी होमबहादुर नेपालीले ३७ मत प्राप्त गरे ।
यसैगरी सचिवमा गौरवराज राना एक सय १९ र सुन्दरमणि अधिकारी ९२ मत प्राप्त गरी विजयी भएका छन् । सचिवका प्रत्यासी दिपककुमार श्रेष्ठले ४९ र श्रीराम घिमिरेले २१ मत प्राप्त गरेका छन् ।
सहसचिवमा श्रीभद्र आचार्य एक सय पाँच र सुरज थापा एक सय १४ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवका प्रत्यासी विकासराज खनालले ३६ र सङ्गम कायस्थले २३ मत प्राप्त गरेका छन् । सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी घिरिङ गाउँपालिकाको सभापतिमा यामबहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् । शुक्लागण्डकी नगरपालिकाको सभापतिमा गोपीबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।