ऋषिङमा १२ मत खसेपछि अधिवेशन स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा १२ मत खसेपछि अधिवेशन स्थगित

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७८, आईतवार

    दुलेगाैडा : तनहुँका ८ स्थानीय तहमा शनिबार अधिवेशन सम्पन्न भएको छ । दुई स्थानीय तहमा भने स्थगित भएको छ । जिल्लाको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा अधिवेशन स्थगित गरिएको हो ।

    भिमादमा सहमतिको प्रयास गर्ने भन्दै आजसम्मका लागि अधिवेशन स्थगित भएको हो । शनिबार दिनभर भएको सहमतीको प्रयास सफल नभएको बताईन्छ ।

    उता ऋषिङमा भने मतदान शुरु भइसकेपछि अधिवेशन स्थगित गरिएको खुलासा भएको छ । ऋषिङको ढुङ्गाडे सामुदायिक भवनमा अधिवेशन भएको थियो । सर्वसम्मत नभएपछि मतदान प्रकृयामा गएको र १२ मत खसेपछि निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत कृष्णप्रसाद बरालले बताए । सोमबार विहान १०ः१५ बजेसम्मलाई निर्वाचन स्थगित गरिएको उनले जानकारी दिए ।
    बरालका अनुसार शनिबार साँझ ५ बजेसम्म सहमतिमा नेतृत्व चयन गर्ने समय दिइएको थियो । अरु पदमा सर्वसम्मत भएपनि सभापति र सचिवमा हुन सकेको थिएन । सभापतिमा भोजराज रानाभाट, तिलबहादुर थापा र दानबहादुर श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा सुरजकुमार श्रेष्ठ, विजय दरै, शुभसुन प्रयास राना र लालबहादुर थापाले उम्मेदवारी दिएका थिए । सभापति र सचिव पदमा सर्वसम्मत नभएपछि मतदान प्रकृया शुरु भएको हो ।

    ‘सहमति हुन नसकेपछि निर्वाचन प्रकृया अगाडी बढाइयो । १२ मत खसेको थियो । त्यसपछि ऋषिङका तरुण युवाहरुले सर्वसम्मत गराउनुपर्छ, यसरी चुनावमा जाँदा नकरात्मक सन्देश जान्छ । गुट उपगुट सिर्जना हुन्छ भनेर तरुण युवाले बाहिर मतदातालाई एकछिन रोक्किनुस भन्नुभयो । मतदाता भित्र मतदान गर्न आउनु भएन । डेढ घण्टा जति मतदान रोकियो,’ उनले अगाडी थप्दै भने, ‘त्यसपछि हामीले पार्टीका अग्रज र उम्मेदवार बोलाएर की सहमति गराउनुस् होइन भने निर्वाचन गर्न दिनुस भन्याँै । झण्डै ७ बजेको थियो होला निर्वाचन गराउनुस भन्नुभयो । त्यो समयमा निर्वाचन अगाडी बढाउन उपयुक्त ठानेनौँ । र सोमबार १० बजेसम्म सहमतिका लागि समय दिएको छौँ । १० ः १५ बजे पछि मतदान शुरु हुनेछ ।’

    सभापतिका उम्मेदवार रानाभाट वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । श्रेष्ठ र थापा शङ्कर भण्डारी अर्थात् संस्थापन पक्ष निकटका हुन् । एउटै खेमाका दुई उम्मेदवार भएर परिणाम पौडेल पक्षमा जाने देखिएपछि भण्डारी निकटका तरुण युवाले सहमतिको वहानामा मतदान रोकेको स्रोतले बताएको छ ।

    तर, सभापतिका उम्मेदवार श्रेष्ठ भने गुटबन्दी भएपछि तरुण युवाले मतदान रोकेको दाबी गर्छन् । उनी भन्छन्, ‘निर्वाचनको प्रकृयामा गुटबन्दी देखिएपछि ऋषिङका आठ वटै वडाका तरुणदलले गुटबन्दी गर्न पाइँदैन, पार्टीलाई मिलाएर सर्वसम्मत रुपमा लैजानुपर्छ भनेर अवरोध गरेका हुन् ।’

    आफू पक्षका तरुण युवा मतदान रोकेर अधिवेशन स्थगित गराउने पक्षमा नरेहेको सभापतिका अर्का उम्मेदवार रानाभाटको प्रस्टोक्ति छ । ‘जसरी पनि आफ्नो पोल्टामा पार्ने हिसाबले स्थगित भएको छ,’ रानाभाटले भने । उनले ऋषिङ काङ्ग्रेसमा अहिलेसम्म गुट नदेखिएपनि शनिबारको घटनाले गुटबन्दी गरेको आरोप लगाए । मतदान अगावै सहमतिका लागि अग्रज नेताबाट प्रयास नगरिएको उनको भनाई छ ।