जबरजस्ती करणी अभियोगमा १३ वर्ष, बालयाैन दुरुपयाेगमा साढे दुई महिना कैद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जबरजस्ती करणी अभियोगमा १३ वर्ष, बालयाैन दुरुपयाेगमा साढे दुई महिना कैद

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७८, सोमबार

    तनहुँ : जबरजस्ती करणीको अभियोगमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले १३ वर्ष कैद फैसला सुनाएको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतले शुक्लागण्डकी नगरपालिका–५ का प्रवेश नेपालीलाई १३ वर्ष कैदको फैसला सुनाएको हो ।

    जिल्ला न्यायधीश हरिशचन्द्र ढुङ्गानाको आइतबारको इजलासले उक्त फैसला गरेको जिल्ला श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिए । साथै निजलाई ५० हजार क्षतिपूर्तिको फैसला समेत भएको छ ।

    निज विरुद्ध जिल्ला अदालतमा विसं २०७७ असोज २८ गते जबरजस्ती करणी गरेको (दफा २१९) अभियोगमा मुद्दा दर्ता भएको थियो ।

    यसैगरी बालयौन दुरुपयोग मुद्दामा एक अभियुक्तलाई जिल्ला अदालतले साढे दुई महिना कैद र रु दश हजार जरीवानाको फैसला सुनाएको छ । जिल्ला न्यायधीश बासुदेव पौडेलको आइतबारकै इजलासले पाल्पाको रामपुर नगरपालिका–३ निवासी सुमन डोटेललाई जिल्ला उक्त सजायको फैसला सुनाएको हो ।

    निजलाई पूर्व आपराधिक चरित्र समेतलाई मध्यनजर राखी मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (३) बमोजिम एक महिना कैद र रु चार हजार जरीवाना भएको छ । साथै अभियुक्त पटके कसुरदार देखिँदा निजलाई सोही संहिताको दफा ४४ (२) बमोजिम थप डेढ महिना कैद र रु ६ हजार जरीवाना भएको अदालतले जनाएको छ । साथै पीडितबाट पीडकलाई रु २५ हजार क्षतिपूर्ति भराउने फैसला समेत अदालतले गरेको छ ।