गृहजिल्लामा कमजोर रामचन्द्र पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गृहजिल्लामा कमजोर रामचन्द्र पौडेल

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७८, सोमबार

    दुलेगाैडा : गाउँ तथा नगर अधिवेशनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूह गृहजिल्ला तनहुँमा कमजोर देखिएको छ ।  जिल्लाका आठ स्थानीय तहमा शनिबार अधिवेशन सम्पन्न भएको थियो ।  दुईमा सर्वसम्मत र ६ स्थानीय तहमा मतदानमार्फत नेतृत्व चयन भएको थियो । दुई स्थानीय तहमा भने अधिवेशन स्थगित भएको छ ।

    १४औँ महाधिवेशनमा सभापति उठ्ने बताइरहेका वरिष्ठ नेता पौडेल निकटले आठमध्ये दुई स्थानीय तहमा मात्र सभापति जितेका छन् । पौडेलको गृहजिल्लामा संस्थापन शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । देउवानिकट शंकर भण्डारीलगायतका नेता निकटले चार स्थानीय तहमा सभापति जितेका छन् । रामचन्द्र र प्रदिप पौडेलनिकटले दुई÷दुई स्थानीय तहमा सभापति जितेका हुन् । 

    रामचन्द्रको आफ्नै गृहनगर व्यास र भानु नगरपालिकामा उनी निकटले सभापति जितेका छन् ।  व्यासको सभापतिमा सूर्यचन्द्र हड्खले र भानुको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका हुन् ।

    संस्थापन पक्षले देवघाट गाउँपालिका, बन्दीपुर, आँबुखैरेनी र म्याग्दे गाउँपालिकामा जित हात पारेको हो । देवघाटमा तिलबहादुर थापा निर्विरोध निर्वाचित भए । बन्दिपुरमा कर्ण खत्री, म्याग्देमा रामभक्त घिमिरे र आँबुखैरेनीमा विष्णु पन्थ मतदानमार्फत निर्वाचित भएका छन् ।

    प्रदिप निकटले शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकामा सभापति जितेका छन् । शुक्लागण्डकीमा सुरुमा संस्थापन पक्षसँगै, पौडेल र जोशीका उम्मेदवार मिलेर ७९ वर्षीय गोपीबहादुर गुरुङको नेतृत्वमा चुनावी प्यानल घोषणा गरेको थियो । 

    गृहनगरमा वाइपास भएका प्रदिप निकटले पनि गोपीबहादुरलाई नै समर्थन गर्दै अन्य पदमा उम्मेदवारी दिएका थिए । गोपीबहादुर सर्वसम्मत भए । चुनावी मैदानमा उत्रिएको प्रदिपको प्यानलले एकछत्र जित हासिल गर्न सफल भयो । दुवै समूहले आफ्नो दाबी गरेका निर्विरोध सभापति बनेका गोपीबहादुर पनि पछिल्लो समय प्रदिप निकट रहेको बुझिएको छ । 

    उनी पहिले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको गुटमा रहेका कांग्रेसी नेताहरुले बताएका छन् । पछिल्लो समय गुरुङ शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ निकट मानिन्छन् । र पहिले रामचन्द्र पक्षका भनिने किसान अहिले प्रदिपको पक्षका हुन् । 

    घिरिङ गाउँपालिकामा पनि प्रदिप निकटका यम थापा सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशन हुन बाँकी भिमाद र ऋषिङमा रामचन्द्र र संस्थापन पक्षका अवस्थामा समान देखिन्छ ।