दमौली : व्यास नगरपालिका-५ पाटनस्थित पराशर माध्यमिक विद्यालयमा माध्यमिक तह उद्धाटन गरिएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सोमबार आयोजित कार्यक्रममा माध्यमिक तहको उद्घाटन गरेका हुन् ।
सो अवसरमा नगरप्रमुख न्यौपानेले विद्यालयले स्तरोन्नति गर्न सफल भएकोमा शुभकामना दिँदै विद्यालयलाई आवश्यक भवन निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पूर्व नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मी, बालमन्दिर माविका प्रधानाध्यापक राजेन्द्र प्रसाद खनाल, विद्यालयका प्रअ हेम पौडेल, शिक्षक रामदत्त पौडेल, वेनीपाटन टोल विकास संस्थाका अध्यक्ष परशुराम गिरी, निवर्तमान विव्यस अध्यक्ष नर वहादुर रानाभाटले विद्यालयले माध्यमिक तह सञ्चालन गरेकामा खुसी प्रकट गर्दै अभिभावकले चाहे अनुसारको गुणास्तरीय शिक्षा प्रदान गर्न जोड दिए ।
अभिभावक शिक्षक संघका अध्यक्ष नर वहादुर आलेले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीले गरेको सहायक प्रअ अनिता घिमिरे काफ्लेले जानकारी दिइन् ।
यसैबीच विद्यालयको स्थापना २०४९ देखि संस्थापक प्र.अ. हुँदै विशेष भूमिका निर्वाह गरी २०५१ चैत्र देखि हालसम्म प्रधानाध्यापकको रुपमा कार्यरत हेम पौडेलले असोज १२ गतेदेखि अवकाश लिने भएका छन् । सोही अवसरमा पौडेलले एकाघरका उषा क्षेत्रीले स्थापना गरेको गरिब तथा जेहेन्दार छात्रवृति कोषमा एक लाख एक थप गरेका छन् । अब उक्त कोष एक लाख सात हजार सात सय ७८ भएको छ ।
साथै स्थानीय खेमबहादुर रानाभाटले यसअघि ३१ हजार एक सय ११ को छात्रवृति कोष स्थापना गरेकामा उक्त कोषमा २० हजार थप गरेका छन् ।