दमौली : व्यास नगरपालिकाले कानून विपरित करारमा कर्मचारी भर्ती गरी करिब दुई करोड भन्दा बढी तलबमा भुक्तानी गरेको छ । नगरपालिकाले सेवा करारमा राख्न नमिल्ने पदहरुमा कर्मचारी भर्ती गरेर एक करोड ८५ लाख ६४ हजार तलब भुक्तानी गरेको हो ।
कार्यालयले अधिकृत, इन्जिनियर, खरिदार, कृषि र पशु प्राविधिक नियुक्त गर्ने कार्य कानून विपरित रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (६) मा नगर प्रहरी, सवारी चालक, सरसफाई सम्बन्धि आदि पदमा बाहेक अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न नसकिने कानूनी व्यवस्था छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७४ चैत १४ मा जारी स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्ने कार्यविधि, २०७४ मा स्वीकृत दरबन्दि भन्दा बाहिर अन्य रुपमा कर्मचारी राखी तलब भत्ता वा पारिश्रमिक भुक्तानी गर्न नमिल्ने र त्यस्तो कार्य प्रचलित कानून विपरित हुने उल्लेख छ ।