खरको छानामुक्त बनाउन व्यास-५ मा जस्तापाता वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खरको छानामुक्त बनाउन व्यास-५ मा जस्तापाता वितरण

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७८, मंगलवार

    दमाैली : वर्षौदेखि खर र फुसको छानामुनी बसोबास गर्दै आएका तनहुँको व्यास नगरपालिकाका सर्वसाधारणलाई जस्ताको छानामुनी ल्याउन शुरु गरिएको छ । खरको छाना जोखिम भएकाले सर्वसाधारणलाई सुरक्षित बनाउन नगरपालिकाले जस्ताको छाना छाउने काम शुरु गरेको हो ।

    व्यास नगरपालिका–५ ले विनियोजन गरेको बजेटबाट सर्वसाधारणलाई जस्तापाता वितरण शुरु गरिएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । वडाबाट विनियोजिन गरिएको रु दश लाखको बजेटबाट जस्तापाता वितरण थालिएको श्रेष्ठले बताए । खरको छानामुक्त बनाउन वडामा रु १९ लाख २७ हजार दुई सय ६९ बजेट आवश्यक पर्ने र बाँकी रकम भने नगरपालिकाले विनियोजन गरेको छ ।

    “खरको छानामुक्त वडा बनाउने अभियान अन्तर्गत खरको छानामुनी बस्दै आएका नागरिकको तथ्याङ्क सङ्कलन गरी जस्तापाता वितरण शुरु गरेका छौ,” उनले भने, “यही वर्षभित्र वडा खरको छानामुक्त बनाउँछौ ।”

    वडा कार्यालयले मङ्गलबार २८ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । खरको छानामुक्त बनाउनका लागि प्रदेश सरकारबाट पनि लाभग्राही छनौट भइआएकाले दोहोरा नपर्ने गरी वितरण गरिने श्रेष्ठले जानकारी दिए ।

    सर्वसाधारणलाई जस्तापाता वितरण गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरवासीको सुरक्षा नगरपालिकाको दायित्व भएकाले खरको छाना भएका सबै घरलाई जस्तापाताले छाउने बताए । खरको छानामुक्त बनाउन नगरपालिकाले बजेट विनियोजन गरेको र त्यसको शुरुवात व्यास–५ बाट भएको न्यौपानेले बताए ।

    “खरको छाना हुँदा आगलागी लगायतका जोखिम हुन्छ, सोही बमोजिम खरको छानामुक्त बनाउने नगरपालिकाको अभियान हो,” न्यौपानेले भने, “सबै वडामा यो अभियान सञ्चालन हुन्छ ।” नगरपालिकाले टेण्डर प्रकृयाबाट जस्तापाता खरिद गरिसकेको उनले बताए ।

    व्यास नगरपालिका–५ चिन्तुटारका चन्द्रबहादुर दरैले वर्षौदेखि खरको छानामुनी बस्दै आएकामा अब भने जस्ताको छानाले घर छाउन पाउँदा खुशी लागेको बताए । “खरको छाना हुँदा आगलागीको डर, ठूलो पानी पर्दा पनि डर हुन्छ,” उनले भने, “अब त जस्ताले घर छाउन पाइयो, एकदमै खुशी लागेको छ ।”