३९५ कुकुर बिरालोलाई रेविज विरुद्धको खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ३९५ कुकुर बिरालोलाई रेविज विरुद्धको खोप

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७८, मंगलवार

    दमौली : विश्व रेविज दिवसको अवसरमा तनहुँमा तीन सय ९५ कुकुर बिरालोलाई रेविज विरुद्धको खोप लगाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र स्थानीय तहको सहयोगमा तीन सय ९५ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको हो ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गत असोज ६ गतेदेखि आजसम्म निःशुल्क खोप अभियान सञ्चालन गरेको थियो । यसअवधिमा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा सामुदायिक, घरपालुवा कुकुर, बिरालो र बाँदरलाई रेविज विरुद्धको खोप लगाइएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार व्यास नगरपालिकामा मात्रै एक सय ४८ कुकुर बिरालोलाई खोप लगाइएको छ । ८८ सामुदायिक, ५० घरपालुवा कुकुर, आठ बिरालो र दुई बाँदरलाई रेविज विरुद्धको खोप लगाइएको छ । त्यस्तै शुक्लागण्डकीमा ७०, बन्दिपुरमा एक सय तीन, आँबुखैरेनीमा ६५ कुकुर बिरालोलाई खोप लगाइएको श्रेष्ठले बताए ।

    कार्यालयले एक हप्ताको अवधिमा निःशुल्क रुपमा रेविज विरुद्धको खोप लगाइदिएको हो । नेपालमा सन् २०३० सम्म रेविज उन्मूलन गर्ने लक्ष्य लिइएको छ । नेपालमा ९९ प्रतिशत कुकुरको टोकाईबाट रेविज हुने गरेको छ । वर्षेनी दुई सय जनाको रेविज लागेर निधन हुने गरेको तथ्याङ्क छ ।

    रेविजमुक्त बनाउन अभियान

    कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेविजमुक्त बनाउन अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले जानकारी दिए । कुकुरको विवरण दर्ता गरेर मात्र पाल्न पाउने नियम लागू गर्न लागिएको छ ।

    श्रेष्ठका अनुसार व्यास नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ । “कुकुर पाल्ने र बीचमा जथाभावी छाडिदिने समस्या व्यापक छ, त्यसले गर्दा सडकमा दुर्घटनाको जोखिम पनि बढाएको छ,” उनले भने , “त्यसो गर्दा रेविजको जोखिम पनि उत्तिकै बढ्छ ।”

    कुकुर बिरालो मानिसका साथी भएकाले यिनीहरुलाई माया गर्नुपर्ने र वर्षको एक पटक सामुदायिक र घरपालुवा कुकुर, बिरालोहरुलाई रेविज विरुद्धको खोप लगाउनुपर्ने विज्ञ केन्द्रले अनुरोध गरेको छ । रेविज रोगको लक्षण देखा परिसकेपछि कुनै उपचार नभएको र मृत्यु निश्चित भएकाले हेलचक्र्याई गर्न नहुने पशु प्राविधिकको भनाई छ ।