दमाैली : बहुविवाह मुद्दाका दुई फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । तनहुँ जिल्ला अदालतबाट कैद सजाय तोकिएका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने श्रीमान् श्रीमती हुन् ।
पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–२ मुसिमराङका २९ वर्षीय नरबहादुर थापा र भिमाद नगरपालिका–४ माझकोट माइती घर भई हाल ऋषिङ गाउँपालिका–२ मुसिमराङ बस्ने २७ वर्षीय मिनाकुमारी थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनीहरुलाई तीन वर्षपछि पक्राउ गरिएको तिमिल्सिनाले बताए ।
जिल्ला अदालत तनहुँले नरबहादुर र मिनाकुमारीलाई विसं २०७५ असोज १५ गते जनही दश महिना १९ दिन कैद र रु पाँच हजार जरीवानाको फैसला सुनाएको थियो । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि आज अदालत दाखिला गरिएको छ ।