दमाैली : जिल्ला प्रशासन कार्यालय तनहुँले दशैंलाई लक्षित गरी बजार अनुगमन शुरु गरेको छ । नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरी कार्यालयले बुधबारदेखि बजार अनुगमन शुरु गरेको हो ।
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठगिन सक्ने सम्भावना भएकाले बजार अनुगमन शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “नजिकिदै गरेको चाडपर्वमा हुन सक्ने ठगी, कृत्रिम अभाव, कालोबजारी नियन्त्रणका लागि अनुगमन शुरु गरेका छौ,” उनले भने, “अनुगमनलाई निरन्तरता दिन्छौ ।”
सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार दमौलीमा सञ्चालित केही पेय पदार्थ विक्री गर्ने पसलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही पसलले म्याद विक्री गरेको सामग्री विक्री गरेको भेटिएको छ भने केही पसलमा मूल्यसूची नराखेको पाइएको छ ।
व्यास नगरपालिका–२ स्थित श्रेष्ठ स्टोर्स, नियम जनरल स्टोर्स, लाफा लिक्विर स्टोर्सको अनुगमन गरिएको छ । त्यसक्रममा नियम जनरल स्टोर्सले मूल्यसूची नराखेको भेटिएको छ भने लाफा लिक्विर स्टोर्समा म्याद गुज्रिएका सामग्री म्याद भएकै सामग्रीसँगै राखिएको छ । सोक्रममा म्याद गुज्रिएका सामग्री राख्न छुट्टै ठाउँको व्यवस्थापन गर्न निर्देशन दिइएको छ । अनुगमन टोलीले पेय पदार्थ विक्री गर्ने पसलको गोदामको समेत अनुगमन गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा भएको अनुगमनमा आन्तरिक राजश्व कार्यालयका रमेश श्रेष्ठ, व्यास नगरपालिकाका रामचन्द्र हड्खले, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका बन्दना पन्त, घरेलु तथा साना उद्योग कार्यालयका दिपेन्द्र पौडेल लगायतको सहभागिता थियो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको नेतृत्वमा मङ्गलबार भएको बैठकले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाउने निर्णय गरेको थियो । व्यवसायी सहितको बैठकले चाडपर्वहरुमा हुन सक्ने अनियमितता, कालोबजारी, बढी मूल्य, असुली, मालसामानमा हुने गुणस्तरहिनता लगायतका विषयमा सूचना लिई आवश्यकता अनुसार स्थानीय तह समेतको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो ।
बैठकले पसल, गोदामको सरसफाईमा ध्यान दिने एवं पसलमा मूल्यसूची सबै उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा टाँस गर्ने गराउने निर्णय गर्नुका साथै व्यवसायीले सरल मुल्यमा गुणस्तरीय सामाग्री उपभोक्तालाई विक्री गर्ने सहमति गरेका छन् । साथै उपभोक्ता हितका सन्देश सहितका प्रचार सामग्रीहरु स्थानीय तह समेतको सहकार्यमा उद्योग वाणिज्य सङ्घ र बजार इकाईहरुले उपभोक्तासम्म लैजाने निर्णय गरिएको छ ।