धर्मलाई पर्यटनसँग जोडेर अगाडी बढ्नुपर्छ : मुख्यमन्त्री पोखरेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धर्मलाई पर्यटनसँग जोडेर अगाडी बढ्नुपर्छ : मुख्यमन्त्री पोखरेल

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७८, बिहीबार

    भानु : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धर्मलाई पर्यटनसँग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । तनहुँको भानु नगरपालिका–१३, चन्द्रावतीस्थित प्राचीन एवं ऐतिहासिक नैनेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्य सहित आजदेखि शुरु महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले धार्मिक स्थलको प्रबद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

    धार्मिक महत्व बोकेका ठाउँहरुलाई पर्यटकीय गन्तव्य बनाउने हिसाबले कार्ययोजना बनाउनुपर्ने चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले भने, “नैनेश्वर महादेव मन्दिरको धार्मिक आस्था त छँदैछ, पुरातात्विक महत्व पनि छ, तर यसलाई पर्यटनसँग गाँसेर अगाडी बढाउनुपर्छ ।” मुख्यमन्त्री पोखरेलले यस ठाउँको विकासका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    पछिल्लो समय गण्डकी प्रदेश बाढीपहिराबाट प्रभावित भएको बताउँदै मुख्यमन्त्री पोखरेलले बाढीपहिराले अवरुद्ध भएका सडक दशैं अगाडी नै खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । सरकार गठन हुँदा कोभिडका अलवा बाढीपहिराको पनि चुनौति आएको भन्दै उनले विपद्बाट क्षति भएका संरचना पुनर्निर्माणका लागि प्रदेश सरकार गम्भीर रहेको बताए ।

    आगामी बजेटमा छुटेका बहुवर्षीय योजनालाई समावेश गरिने बताउँदै मुख्यमन्त्री पोखरेलले त्यस्ता केही योजना भए प्रकृयागत रुपमा आउन आग्रह गरे ।

    करिब दुई सय वर्ष पुुरानो यो मन्दिर भग्नावशेष बन्दै गएकाले महायज्ञबाट सङ्कलित रकमले मन्दिरको पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ । नैनेश्वर महादेव मन्दिरको आयोजनामा शुरु महायज्ञ असोज २६ गतेसम्म सञ्चालन हुने र महायज्ञबाट करिब रु एक करोड दान सङ्कलनको अपेक्षा गरिएको महायज्ञ मूल समारोहका समितिका सचिव कुवेर खनालले जानकारी दिए ।

    प्राचीन एवं ऐतिहासिक महत्व बोकेको यस मन्दिरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना लिइएको छ । धार्मिक अनुष्ठान तथा पितृ मोक्ष महोत्सव तथा ज्ञान महायज्ञमा पण्डित कपिलदेव भट्टले कथावाचन गर्नेछन् । कार्यक्रम अवधिभर सामूहिक पितृ तर्पण, अन्नदान, भूमिदान, ब्राम्हण भोजन र पितृको फोटो राखी पूजा गर्न सकिने आयोजकले जनाएको छ ।