दमाैली : तनहुँको व्यास नगरपालिका–५ चुँदेर निवासी अनिता थापा बिहानै ४ बजे उठेर पंधेरामा जान्थिन् । पानीको जोहो गर्न सबेरै पंधेरामा जानुपर्ने उनकाे दैनिकी नै बनिसकेको थियो । एक घण्टाको पैदल हिँडेर डोकोमा पानी बोक्न थालेको वर्षौ भयो ।
सोही ठाउँ निवासी सीतामाया थापा पानी पानीको जोहो गर्न पंधेरामा पुग्थिन् । बिहानै पंधेरामा नपुगे खानेपानी पनि नहुने तितो अनुभव उनले सुनाइन् । “बिहान उठेपछिको पहिलो काम भनेकै पानीको जोहो गर्नु हो,” उनले भनिन् “एक घण्टा हिँडेर भारी बोकेर पानी ल्याउनुपथ्र्यो ।”
अनिता र सीतामायालाई अब पानीको जोहो गर्न डोको बोकेर पंधेरासम्म पुग्नपर्दैन । रोटरी क्लव अफ दमौलीले दाताको सहयोगमा गाउँमै खानेपानी आयोजना निर्माण गरिदिएपछि चुँदेर गाउँका स्थानीयवासीको दुःख हटेको छ ।
सदरमुकाम दमौलीबाट करिब १२ किमि दूरीमा अवस्थित छ चुँदेर गाउँ । सदरमुकाम नजिकै भएपनि यस ठाउँमा वर्षौसम्म खानेपानीको चरम अभाव रह्यो । “खानेपानीको अभावले कति दुःख भयो भन्ने कुरा शब्दमा बयान गर्न सकिँदैन,” थापाले भनिन्, “आज घरमै धारा आउँदा खुसीको सीमा नै छैन ।”
खानेपानीको समस्याकै कारण यहाँका वासिन्दा वेशी झरेको थापाले जानकारी दिए। “पानी नभएपछि यहाँका थुप्रै वासिन्दा तल वेशी झर्नुभयो, हाम्रो त जाने ठाउँ पनि कतै छैन, दुःखसुख अहिलेसम्म यही बस्यौ,” उनले भनिन् ।
खानेपानीको दुःखकै कारण चुँदेरका गाउँका स्थानीयवासी बसाइसराइ गरे । ५० वर्ष पहिला एक सय ५० घरधुरी रहेकामा खानेपानीको दुःखकै कारण अधिकांश गाउँले वेशी झरेको स्थानीयवासी अमर थापाले जानकारी दिए । खानेपानी योजना माग्दै विभिन्न तहको सरकारको ढोका गुहारेपनि कुनै सुनुवाई नभएपछि रोटरी क्लवले खानेपानी बनाइदिने भन्ने खबरले स्थानीयवासी खुसी भए । “खानेपानी योजना सम्पन्न भएर घरदैलोमा नै पानी आएको देख्दा खुसीले गद्गद् छौ, वर्षौदेखिको पानीको दुःखले यहाँका स्थानीयवासीले भोग्नुपरेको दुःख अब हट्यो,” उनले भने ।
अमेरिकास्थित रोटरी क्लव अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण सम्पन्न भएको हो । वर्षौदेखि खोल्सा र पंधेराको पानी उपयोग गर्दै आएका यहाँका वासिन्दाका घर–घरमा खानेपानी पुर्याउने उद्देश्य सहित विसं २०७७ पुस २१ गते खानेपानी आयोजना निर्माण शुरु भएको थियो ।
रु एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण सम्पन्न भएको रोटरी क्लव अफ दमौलीका क्लवका निवर्तमान अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । खानेपानी योजनाबाट ६८ घरधुरी लाभान्वित भएका छन् ।
खानेपानी योजना निर्माणका लागि अमेरिकास्थित रोटरी क्लव अफ होनोलुलु सनसेटले रु ८४ लाख ८१ हजार ६ सय ६७ सहयोग गरेको छ । त्यस्तै रोटरी क्लव अफ दमौलीले रु तीन लाख ४२ हजार सहयोग गरेको छ । बाँकी रकम व्यास नगरपालिकाले व्यहोरेको रोटरी क्लव अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।
२ सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत् घर घरमा पानी वितरण गरिएको छ । एक घण्टामा दश हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६ सय २९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । योजनामा ३० मिटरको ट्रान्समिसन लाइन, ५ सय ८० मिटर वितरण लाइन निर्माण गरिएको छ ।
तस्वीर : अश्विनकिशाेर श्रेष्ठ