दमाैली : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली आत्मप्रशंसामा रमाएको आरोप लगाएका छन् । नेकपा एमालेको काठमाडौमा जारी विधान अधिवेशनमा जताततेै केपी ओलीको फोटो टाँसेर केपी ओलीले तानाशाह प्रवृत्ति देखाएको आरोप लगाए ।
“जताततै केपी ओलीको फोटैफोटो, मदन भण्डारी, पुष्पलालको कतै चर्चा छैन, हुँदाहुँदा पानीको बोतलमा पनि केपी ओलीको फोटो,” उनले भने, “यस्तो तानाशाहले मात्र गर्छन् ।” केपी ओलीले देशलाई तानाशाहमा लैजान खोजेको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले केपी ओलीको कदमलाई काङ्ग्रेसले रोकेको पौडेलको दावी थियो ।
जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडी बढाउनुपर्छ
पौडेलले काङ्ग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडी बढाउनुपर्नेमा जोड दिए । नेपाली काङ्ग्रेस भानु नगर समितिको आज आयोजित पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जित र हारलाई स्वभाविक रुपमा लिएर एकता र सद्भावको यात्रा बढाउनुपर्नेमा जोड दिए ।
“जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जित र हारलाई सहज रुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडी बढ्नुपर्छ,” वरिष्ठ नेता पौडेलले भने, “तबमात्र काङ्ग्रेस बलियो बन्छ ।”
लोकतन्त्र बचाउने भनेको काङ्ग्रेसले मात्र भएको बताउँदै वरिष्ठ नेता पौडेलले कम्युनिष्टबाट लोकतन्त्र बच्न नसक्ने जिकिर गरे । “देशमा लोकतन्त्र बचाउने काम काङ्ग्रेसले जिम्मेवारीपूर्वक वहन गर्नुपर्छ त्यसको अभिभारा काङ्ग्रेसलाई आइपरेको छ,” उनले भने ।
७० वर्ष लडेर ल्याएको संविधानले महिला, दलित, जनजातिलाई अधिकार दिलाएको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले सिंहदरवारका अधिकार गाउँ गाउँमा आएको बताए । काङ्ग्रेस नेतृत्वले ल्याएको संविधानमाथि आक्रमण हुन सक्ने भएकाले परिवर्तन बचाउनका लागि अझै पनि सङ्घर्ष गर्न बाँकी रहेको बताए ।
नेपालमा अझै पनि लोकतन्त्र सुनिश्चित नभइसकेको बताउँदै पौडेलले लोकतन्त्रका लागि लडाइँ गर्न बाँकी रहेको टिप्पणी गरे । देशको परिवर्तन जोगाउने लडाइँ लड्नका लागि आफू सदैव क्रियाशील रहेको बताउँदै पौडेलले त्यो लडाइँ अझै नसकिएको बताए । “नेपाललाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ, त्यसका विरुद्धमा कम्मर कसेर लाग्नुपर्छ,” उनले भने ।
एमालेले बिना कारण संसद अवरोध गरिरहेकाले एमाले जिम्मेवार प्रतिपक्ष बन्नुपर्नेमा वरिष्ठ नेता पौडेलले आग्रह गरे ।