युवा परिषद्का सदस्यलाई अभिमुखीकरण, समाज विकासको अभियानमा युवालाई जोड्न चाहन्छौ : न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवा परिषद्का सदस्यलाई अभिमुखीकरण, समाज विकासको अभियानमा युवालाई जोड्न चाहन्छौ : न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७८, शनिबार

    दमाैली : तनहुँको व्यास नगरपालिका युवा परिषद्का सदस्यका लागि अभिमुखीकरण प्रदान गरिएको छ । व्यास नगरपालिका अन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका युवालाई समेटेर गठन गरिएको परिषद्का सदस्यलाई अभिमुखीकरण प्रदान गरिएको हो । शनिबारदेखि शुरु अभिमुखीकरण आइतबारसम्म चल्नेछ ।

    कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले समाज विकासको अभियानमा युवालाई जोड्न चाहेको बताए । युवासँग प्रतिभा रहेकाले युवाको प्रतिभा पहिचान गरी सामाजिकीकरणको अभियानमा नगरपालिका रहेको न्यौपानेले बताए । युवाहरुको सोच, चिन्तनलाई मध्यनजर गरी नेतृत्व विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताउँदै उनले युवामैत्री व्यास नगरपालिका बनाउने प्रतिबद्धता जनाए ।

    उपप्रमुख मीरा जोशीले व्यास नगरपालिकाले सदैव युवाको आवाज सुन्ने बताइन् । नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले युवाहरु परिवर्तनका संवाहक भएकाले युवाहरुले आफ्नो क्षमता पहिचान गर्न सक्नुपर्नेमा जोड दिए ।

    युवा अभियान्ता अपार पौडेलले युवाहरु सधैँ सकारात्मक हुनुपर्ने बताउँदै रचनात्मक काममा युवाको सहभागिता अपरिहार्य रहेको बताए । युवा नेतृ एलिजा ढकालले अबको नेतृत्व गर्ने भनेको युवाले नै भएकाले युवाले चाहे परिवर्तन सम्भव रहेको बताइन् ।

    अभिमुखीकरणको पहिलो दिन युथ काङ्ग्रेसका केन्द्रीय संयोजक सचिन तिमिल्सिनाले सहजीकरण गरेका थिए । अभिमुखीकरणमा ४० भन्दा बढी युवाको सहभागिता रहेको युवा परिषद्का कार्यकारी उपाध्यक्ष गौरव पन्थले जानकारी दिए ।