दमौली : तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बाघको मूर्ति सहितको उद्यान निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा वाराही सामुदायिक वनभित्र बाघको मूर्ति सहितको बागेश्वरी उद्यान पार्क निर्माण गरिएको हो ।
यस ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य सहित उद्यान निर्माण गरिएको सव डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए । नयाँ नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्य सहित कार्यालयले स्थानीयवासीको सहभागितामा उद्यान निर्माण गरिएको रानाभाटले बताए ।
“जिल्लाका विभिन्न ठाउँमा हरित उद्यान बनाउने कार्यालयको वार्षिक कार्यक्रम अनुसार यहाँ बाघको मूर्ति सहितको उद्यान बनाएका हौ, यसले पर्यटकलाई आकर्षित गर्नेछ,” उनले भने ।
डिभिजन वन कार्यालय तनहुँको रु पाँच लाख र वाराही सामुदायिक वनको रु एक लाख २५ हजार गरी रु ६ लाख २५ हजारमा उद्यान निर्माण गरिएको हो । यहाँ मिनी चिडियाखाना र वनभोज स्थल पनि बनाउने लक्ष्य लिइएको वाराही सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए । पृथ्वीराजमार्गबाट नजिकै रहेकाले यस ठाउँ पर्यटकको रोजाइमा पर्ने खनालले विश्वास व्यक्त गरे ।
डिभिजन वन कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँमा हरित पार्क निर्माणलाई प्राथमिकता दिएको छ । कार्यालय प्रमुख कोमलराज काफ्लेका अनुसार भिमाद नगरपालिका–९ मोहोरियामा अग्लो ढुङ्गा सिङ्गारेर पार्क बनाइएको छ । त्यसले निकै चर्चा कमाएपछि पर्यटकको ओइरो लाग्न थालेको छ । त्यहाँ कार्यालयले रु २० लाख लगानी गरेका छन् भने स्थानीयवासीले दश प्रतिशत लागत सहभागिता बेहोरेका छन् ।
कार्यालयले व्यास नगरपालिका–४ सिमलटारमा पनि शहरी हरित उद्यान निर्माण गरेको छ । यसैगरी ज्यानटाङ सामुदायिक वनभित्र रु १२ लाख ५० हजारको लागतमा रुखमाथि घर बनाइएको छ । उक्त घरले पछिल्लो समय निकै चर्चा पाएको थियो ।
कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरेको थियो । भीमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।
सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ । त्यसका लागि वन कार्यालयले रु पाँच÷पाँच लाख बजेट सहयोग गरेको छ ।