दुलेगौँडा : नेपाल जेसिजको बर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्षमा तनहुँका कृष्णबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राती भएको विद्युत्तिय मतदानमार्फत नेपाल जेसिजको नयाँ नेतृत्व चयन गरिएको हो ।
आइतबार विहान आएको मतपरिणाम अनुसार तनहुँ शुक्लागण्डकीका श्रेष्ठ राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । नेपाल जेसिजको पोखरामा जारी ४८ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा कुल एक हजार २६८ मत खसेकोमा श्रेष्ठले ८१३ मत प्राप्त गरेका हुन् । उनीसँगै १२ जना राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । १९ जना चुनावी मैदानमा होमिएका थिए ।
उनी शुक्लागण्डकी जेसिजको बर्ष २०२१ का अध्यक्ष हुन् । २०१२ देखी उनी शुक्लागण्डकी जेसिजमा आबद्ध छन् । प्रस्तावित सदस्य हुदैँ जेसिजको शाखा अध्यक्षको जिम्मेवारी समेत उनले सम्हालेका छन् । ३५ बर्षीय श्रेष्ठ शुक्लागण्डकी जेसिजबाट नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा पुग्ने दोस्रो व्यक्ति हुन् ।
यसअगाडी २०१४ मा सुजनकुमार श्रेष्ठ पनि राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका थिए । २०१९ मा श्रेष्ठ राष्ट्रिय कोषाध्यक्षमा मनोनित भएका थिए ।
राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका श्रेष्ठले मतदाताको मतलाई खेरा जान नदिने प्रतिबद्धता जनाएका छन् । पराजित भएका उम्मेद्वारसँग पनि सहकार्य गर्दै नेपाल जेसिजको गरिमा उचो बनाउनेगरी काम गर्ने उनको भनाई छ । १ पुसमा पोखराको नयाँ बजारमा सुरु राष्ट्रिय महाधिवेशन आज सकिदैँछ । नेपाल जेसिजको अध्यक्षमा लालमणी भण्डारी निर्वाचित भएका छन् ।