दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् ।
दमौलीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले एमसिसी परियोजनमा मतभेद सृजना गरी गठबन्धन भत्काउने एमाले अध्यक्ष केपी ओलीको प्रयास सफल नहुने बताए । सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको चर्चा गर्दै मन्त्री श्रेष्ठले छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए । एमसिसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनले बताए ।
फरक प्रसंगमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफु केन्द्रित रहेको बताए । देशभित्र रोगजारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि विभिन्न सुधारका काम अघि बढाइएको उनले बताए । वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएको बताउँदै उनले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरवलोकन गर्न लागिएको बताए ।
रोजगारीको लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हक हित संरक्षण र सम्वर्द्धनको लागि पहल गर्ने समेत उनको भनाई थियो ।