विपी वनवाटिका तनहुँ महोत्सव सञ्चालनका लागि दिने (थप निर्णय सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विपी वनवाटिका तनहुँ महोत्सव सञ्चालनका लागि दिने (थप निर्णय सहित)

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७८, बुधबार

    दमाैली । व्यास नगरपालिकाले विपी वनवाटिका खेल मैदान आठौ तनहुँ महोत्सव सञ्चालनका लागि प्रयोग गर्न दिने निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले व्यास नगरपालिका–३ स्थित खेलमैदान महोत्सव सञ्चालनका लागि प्रयोग गर्न दिने निर्णय गरेको हो ।

    तनहुँ उद्योग वाणिज्य सङ्घले आगामी पुस २९ गतेदेखि माघ १० गतेसम्म महोत्सव सञ्चालन गर्दैछ । यसअघि नगरपालिकाले व्यास–४ र १० को सीमाना भतेरीमा महोत्सव सञ्चालनका लागि स्थान उपलब्ध गराएको थियो । उक्त स्थान अनुपयुक्त भएको भन्दै सङ्घले विपीवनवाटिका खेलमैदान नै उपलब्ध गराइदिन नगरपालिकालाई आग्रह गरेको थियो ।

    नगरपालिकाले जिल्ला समन्वय समिति, प्रशासन कार्यालयसँग समन्वय गरी दमौली उद्यान खुल्ला नै रहने गरी विपी वनवाटिका खेलमैदानको पर्खालभित्र मात्र महोत्सव गर्न अनुमति दिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयतर्फ आवतजावत गर्न रोकथाम नहुने गरी अन्तिम पटकलाई खेलकुद मैदान महोत्सवका लागि उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताए ।

    बैठकले सहिद दिवस र नारी दिवसका दिन आयोजना हुने खुल्ला अल्ट्र म्याराथन तथा महिला हाफ म्याराथनको व्यवस्थापन गर्न नगर खेलकुद समिति र माविस्तरीय मेयर, उपमेयर कप फुटबल प्रतियोगिता र रनिङशिल्ड प्रतियोगताको व्यवस्थापन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।

    शिक्षा तथा सामाजिक विकास शाखाको सिफारिस बमोजिम सङ्घीय बजेट अन्तर्गत रु छ लाख ५० हजारका दरले चार विद्यालयलाई इलाइव्रेरी, तीन विद्यालयलाई आइसिटी स्थापना, तीन विद्यालयका लागि विज्ञान प्रयोगशाला र पाँच विद्यालयका लागि रु ५० हजारका दरले विद्यालय सामग्री वितरण गर्ने गरी विद्यालय छनौट गर्ने निर्णय बैठकले गरेको छ ।

    नगरपालिकाले ३६ औं नगरसभा माघ २१ गते गर्ने निर्णय गरेको छ । बैठकमा चालु आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रमको कार्यप्रगति बारे छलफल गरिएको छ । प्रवक्ता श्रेष्ठका अनुसार नगर र वडास्तरीय गरी कूल ९ सय ८६ योजनामध्ये दुई सय ८२ योजना सम्पन्न भएका छन् । तीन सय ८४ योजना सम्झौता भई निर्माण प्रक्रियामा रहेको र तीन सय २० योजना सम्झौता हुन बाँकी रहेको छ ।